
विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागीता जनाएको फिल्म ‘शाम्बाला’ शुक्रबारबाट नेपालमा प्रदर्शनमा आएको छ । लामो समयपछि निर्देशक मीन भामले तयार पारेको यो फिल्मको सकारात्मक चर्चा चुलिएकाले हलहरुले पनि प्राथमिकताका साथ साम्बालालाई स्थान दिएको छ । खुशीको कुरा त के छ भने यो फिल्म अस्कर अवार्डका लागि समेत छनोट भएको छ ।
पहिलो दिननै काठमाडौंका हलहरुले ७० र उपत्यका बाहिर ४० भन्दा बढी शो पाएको ‘शाम्बाला’ले उत्साहजनक दर्शकको प्रतिकृया पाएको छ । फिल्म ‘कालो पोथी’को सफलताको झण्डै ८ वर्षपछि निर्देशक मीन भावले साम्बाला निर्देशन गरेका हुन् । यस फिल्मले समेत दर्शक र शुभचिन्तकको प्रशंसा बटुलेको छ।
फिल्ममा हिमाली जनजीवन समेटिएको छ । बहुपति प्रथामा केन्द्रीत रहेको यस फिल्ममा एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा प्रस्तुत गरिएको छ । प्रदर्शनरत फिल्मको पहिलो दिन विभिन्न हलहरुमा दर्शकको प्रतिकृया बटुल्न पुगेका कलाकारहरु प्रतिकृयाले उत्साहि छन् ।
‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको मुख्य भूमिका छ । चलचित्रको कथा मीन भाम र अभिनाश विक्रम शाहले संयुक्त रूपमा लेखेका हुन् । मौलिक कथालाई कलात्मक रुपमा दृष्य भाषामा उतार्न सक्ने अव्वल क्षमता राख्ने भाम दर्शकका लागि यो फरक स्वाद हुने दावी गर्छन्।
बर्लिन, लोकार्नो जस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागिता जनाईसकेको साम्बाला भर्खरै अस्कर अवार्डको लागि छनोट भएको छ।