८ बैशाख २०८२, सोमबार

ओलीसामू उपसभामुख रानाले राखिन् आफ्नो विषय, राजीनामा नदिने जवाफ

Indira rana magar
फाइल फोटो

उपसभामुख इन्दिरा रानाले आफूले कुनै गल्ती नगरेको भन्दै तत्काल राजीनामा नदिने स्पष्ट पारेकी छिन् ।

शुक्रबार साँझ बसेको संवैधानिक परिषद्को बैठकमा सहभागी भएकी उपसभामुख रानाले आफूलाई हटाउन लागिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसामू जिज्ञासा राख्ने क्रममा यस्तो स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्री ओलीले भने संवैधानिक परिषद्को बैठकमा विषयबाहिरको कुरा नराख्न भनेको बताईएको छ । तर, विपक्षी दलका नेता पुष्पकमल दाहालले पनि चासो राखेका थिए ।

राजीनामा मागिएको र नदिए महाभियोग लगाएर हटाउने भनेर सत्ता पक्षले हस्ताक्षर नै संकलन गरेको विषय बाहिरिएपछि उपसभामुखले त्यसबारेमा जिज्ञासा राख्नु स्वभाविक भएको प्रचण्डको भनाई थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले बजारको हल्लाबारे कुरा नगरौं भनेको रानाले जानकारी दिईन् ।