
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कानुन मिचेर कर्मचारी सरुवा नगर्न र काजमा नराख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । निर्देशन उल्लंघन गरे कर्मचारीले लिएको तलब जथाभावी सरुवा गर्ने र काजमा राख्ने अधिकारीबाटै असुल्ने चेतावनीसमेत प्रधानमन्त्री कार्यालयले दिएको छ ।
प्रधानमन्त्री कार्यालयले संघीय मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई पत्र पठाएर संघीय निजामती ऐनमा उल्लेख भएका प्रावधान मिचेर सरुवा नगर्न निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयले संघीय मन्त्रालयले गर्दै आएको कर्मचारीको सरुवा, पदस्थापना, काजलगायतका गतिविधिप्रति असन्तुष्टि जनाउँदै यस्तो पत्राचार गरेको हो ।
पत्रमा निजामती ऐन २०४९, नियमावली २०५० का प्रावधानहरु स्मरण गराउँदै जथाभावी सरुवा गरेमा नियमविपरीत सरुवा वा काजमा बसेका कर्मचारीको तलब सरुवा गर्ने अधिकारीबाट असुल्ने चेतावनी दिएको छ । निजामती ऐनमा सम्बन्धित अधिकारीबाटै तलबभत्ता असुल्ने व्यवस्था रहेको छ ।