
वैदेशिक रोजगारी र अध्ययनका लागि युवाहरू विदेशिने क्रम बढेसँगै यसैका नाममा ठगी गर्नेहरू पनि बढेका छन् ।
पछिल्लो पटक क्यानडा पठाउने प्रलोभन देखाएर एक कन्सल्टेन्सीले २५ युवाहरूसँग ४ करोड ठगी गरेको छ। ठगिएको थाहा पाएपछि युवाहरू वैदेशिक रोजगार विभाग तथा प्रहरीमा धाएका छन् । तर, ती निकायले आफ्नो क्षेत्राधिकार नभएको भन्दै फर्काएपछि पीडितहरू झन् अन्योलमा परेका छन् ।
काठमाडौँमा वसुन्धरास्थित जुजु एजुकेसन कन्सल्टेन्सीले १५ महिनाअघि क्यानडामा रोजगारीको अवसर भनेर विज्ञापन गर्यो । संस्थाका सञ्चालक प्युठान घर भएका २३ वर्षीय सन्दीप न्यौपानेले सीमित कोटा आएको भन्दै बेरोजगार युवासँग पासपोर्टदेखि आवश्यक कागजात सङ्कलन गरे । भिसा अन्तर्वाताका लागि भन्दै भारतसमेत लगे । युवाहरूलाई भिसा भनेर कागजात थम्याए । क्यानडा जानुअघि यही भदौ २७ गते ओरियन्टेसन भनेर कार्यालयमा बोलाएका न्यौपाने सोही दिन सम्पर्कविहीन भएपछि युवाहरूले बल्ल थाहा पाए भिसा नक्कली रहेछ भनेर । न्यौपाने आफूहरूसँग उठाएको चार करोड लिएर दुबई भागेको दाबी युवाहरूको छ ।
यस्ता गिरोहले बनाएका नक्कली कागजातकै आधारमा ट्राभल एजेन्सीहरूले टिकट बुक गर्छन् भने बैंकले डलर सटही गरिदिन्छ । कानुनी संयन्त्रले समेत नक्कली कागजात नचिन्दा बेरोजगार युवाहरू पाइला-पाइलामा ठगिन्छन् ।
वैदेशिक रोजगार विभागका अनुसार जुजु ह्युमन रिसोर्सेस नामक म्यानपावर दर्ता नै भएको छैन । कम्पनी रजिस्ट्रारको कार्यालयमा जुजु जब सोलुसन्स प्रालिको रूपमा दर्ता देखिन्छ । तर, उक्त कम्पनीले वैदेशिक रोजगारीको नाममा युवाहरूसँग करोडौँ असुल्दा पनि नियमकारी निकायले थाहा पाएन । यस्ता ठगीका मात्र ९ हजारभन्दा बढी उजुरी वैदेशिक रोजगार विभागमा परेका छन् ।