७ बैशाख २०८२, आईतवार

रविलाई समेत दोषी ठहर गर्दै छानबिन समितिको प्रतिवेदन तयार

Rabi Lamichhane
फाइल फोटो

सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज संसदमा प्रतिवेदन बुझाउँदै छ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षत्रीले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

तीन महिना १५ लिन लामो अनुसन्धानपछि समितिले आज प्रतिवेदन बुझाउन लागेको हो। छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो। करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो । प्रतिवेदनमा हस्ताक्षर गर्न ७ सदस्यीय समितिको बैठक अहिले बिहान ११ बजे बस्दैछ । समितिले आजै दिउँसो १ बजे सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ।

कम्पनीका अध्यक्ष गितेन्द्रबाबु-जीबी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको हो।

बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीबी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेको प्रमाण समेत समितिले जुटाएकोछ । तीनमध्ये दुई जनाको हस्ताक्षर चल्ने गरी खाता सञ्चालन भएको र रवि लामिछानेले हस्ताक्षर गरेका चेक पनि साटिएको समितिका एक सदस्यले जानकारी दिए ।

कम्पनीको लगानी, ऋण र सम्पत्तिसहितको लेखापरीक्षण प्रतिवेदनमा पनि अध्यक्षको ठाउँमा गितेन्द्रबाबु-जीबी राई र प्रबन्ध निर्देशकका रूपमा रवि लामिछानेको हस्ताक्षर भेटिएको छ । कम्पनीका अध्यक्ष राईले जस्तै प्रबन्ध निर्देशक लामिछानेले पनि सहकारीको बचत कम्पनीमा सारेर आफ्नो लगानीका रूपमा देखाई, २०७७ वैशाख ५ मा कम्पनी रजिस्ट्रार कार्यालयबाट सेयर कायम गराउनु भएको देखिन्छ । लामिछानेले कम्पनी रजिस्ट्रार कार्यालयमा हस्ताक्षर र औंठा छापसहित बुझाएको कागजमा समेत आफूले १५ प्रतिशत सेयरका लागि कम्पनीमा रकम बुझाएको उल्लेख छ ।