८ बैशाख २०८२, सोमबार

रविले किर्ते कागजको आधारमा गोरखा मिडियाको शेयर खरिद-बिक्री गरेको समितिको निश्कर्ष

Rabi.jpg 9

सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले किर्ते कागजको आधारमा कम्पनीको शेयर गरिदविक्री गरेको निश्कर्ष निकालेको छ । समितिले आज संसद्मा प्रतिवेदन पेश गरिसकेको छ । समितिले शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको निश्कर्ष निकालेको हो ।

भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको करसमेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न सरकारलाई सिफारिस गरिएको छ । त्यस्तै, लामिछानेले गोर्खा मिडियाबाट पाएको भनिएको वेट शेयरको सम्बन्धमा कानुनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन भनिएको छ ।

समितिले सहकारीमार्फत गोर्खा मिडियामा आएको रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेका अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाहीको सिफारिससमेत गरेको छ ।

रवि लामिछानेसहित गोर्खा मिडियाका चार सञ्चालकलाई कारवाही गर्न सिफारिस

सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ ।

समितिले संसदमा पेश गरेको प्रतिवेदनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस समेत गरेको छ ।

समितिले भनेको छ- ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

रवि भन्छन्- समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले कारवाहीको सिफारिश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क सभापति रवि लामिछानेले आफुले सहकारी ठगि गरेको आरोपबाट मुक्त भएको बताएका छन् ।

संसद बैठकपछि बाहिर निस्किने क्रममा सभापति लामिछानेले आफुले प्रबन्ध निर्देशकको रुपमा काम गरेको र आफुले सहकारी ठगेको भन्ने विषय प्रमाणित नभएको बताएका हुन् ।

उनले भनेका छन्- ‘लगानीकर्ताले ल्याएको स्रोत हेर्ने अथोरिटी मेरो जानकारीमा हुँदैन । आएको चिजलाई एमडीको रुपमा कर्मचारीलाई तलब पनि दिनुपर्ला । मुल मुद्दा भनेको सहकारी ठगीमा मेरो संलग्नता छ वा छैन भन्ने हो । मलाई सहकारी ठग भनिएको थियो । प्रतिवेदन चाहिँ हेर्न पाएको छैन । तर, जुन विषयमा लान्छना लागेको थियो, त्यसमा समितिले स्पष्ट पारेको छ ।’