७ बैशाख २०८२, आईतवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

Durga.jpg 1
फाइल फोटो

साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट पक्राउ परेका हुन् ।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । पक्राउ गर्न गएको प्रहरी टोलीलाई भित्र छिर्न नदिई ढोका बन्द गरेर बसेका थिए ।

त्यसक्रममा ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरेपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर उनलाई नियन्त्रणमा लिनुका साथै हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई समेत नियन्त्रणमा लिइएको थियो ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।