
नेपालमा आज (शनिबार) ३६४८ पिसिआर टेस्ट भएकोमा थप ७० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
साथै थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।
कहाँकहाँ थपिए संक्रमित ?
मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् । तर कहीँ पनि दोहोरो अंकमा छैनन् । सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५/५ जना संक्रमित थपिएका छन् ।
यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४/४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३/३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/२ जना संक्रमित थपिएका छन् ।
यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।
यसैगरी धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको पनि गौतमले जानकारी दिए ।
यस साता बुधबारदेखी संक्रमित संख्या घट्दो क्रममा छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४३१ जना र आज सम्म ८,४४२ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
बार | पिसिआर टेस्ट | संक्रमित संख्या |
आइतबार | ४७१० | २९२ |
सोमबार | ४७२१ | १८० |
मंगलबार | ६१३३ | २०४ |
बुधबार | ४६९६ | २५५ |
बिहिबार | ४५८८ | १०८ |
शुक्रबार | ४८०६ | ११८ |
शनिबार | ३६४८ | ७० |
जम्मा | ३३३०२ | १२२७ |