६ बैशाख २०८२, शनिबार

गगनलक्षित गर्दै रविले भने, सहकारी ठगीमा मेरो संलग्नता देखिएको भए म राजनीति छोड्थेँ

Rabi Lamichhane 1

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा सहकारीबाट आएको पैसाको परिचालनमा आफूले जिम्मेवारी लिने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत लाइभ आएका लामिछानेले संसदीय समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीमा संलग्नता नदेखिएको बताएका हुन् ।

‘समितिले भन्यो सहकारी ठगीमा मेरो संलग्नता रहेन । म संस्थामा रहेको बेला पैसा आएको कुराको जिम्मेवारी लिनुपर्छ । म त्यो जिम्मेवारीबाट भागेको छैन,’– उनले भने ।

आफूमाथि सरकारले कुन मुद्दा लगाउन सकिन्छ भनेर चलखेल भइरहेको उनले बताए । सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरुमाथि पनि उनले प्रश्न उठाए । उनले अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको पनि उनले बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको खण्डमा राजनीति छाड्न तयार रहेको उनले बताएका थिए ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको बयानबाट रवि लामिछानेलाई पक्राउ गर्न सकिन्छ कि भन्ने प्रयास भइरहेको पनि उनले बताए । आफू गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको पनि उनले बताए ।

यस्तै, लामिछानेले सहकारी प्रकरणमा आफू दोषी नभए पनि मिडियाले जबर्जस्ती रुपमा दोषी बनाएको बताएका छन्।

उनले सहकारी छानबिन समितिको प्रतिवेदनले सहकारीबाट रकम ल्याएको नदेखिएको बताए पनि मिडियाले बङ्ग्याएर समाचार लेखेको बताएका हुन्।

उनले सहकारीबाट आएको रकम आफूले चलाएको कुरामा जिम्मेवार हुने बताए।

उनले भने,‘भएको भन्दा नभएको कुरा गर्नु उचित होइन, सहकारीबाट रकम ल्याउनमा मेरो संलग्नता नभएको प्रतिवेदनले बताएको छ। तर रकम आइसकेपछि मैले चलाएको हो भनेको कुरालाई नकार्न मिल्दैन। मैले यसलाई बङ्ग्याउन मिल्दैन।’

उनले आफूलाई पक्राउ पुर्जी जारी भनेर समाचार आएपछि के भएको हो भनेर कार्यकर्ताहरु पार्टी कार्यलयमा बुझ्न आएको स्पष्टीकरण दिए।

भिडिओ