८ बैशाख २०८२, सोमबार

देशभर भारी वर्षाको सम्भावना, ५६ जिल्ला उच्च जोखिममा

weather

यस वर्षको मनसुन सकिने बेला भएको छ । तर अहिले कहिले चर्को घाम लाग्ने त छिन् मै धुम्म भएर पानी परिहाल्छ जस्तो भइरहेको छ । केही ठाउँमा पानीसमेत परिरहेको छ । मनसुन सक्रिय भएपछि मौसम पूर्वानुमान महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई उच्च जोखिम क्षेत्रमा राखेको छ ।

आजदेखि चार दिनसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र तराई मधेशमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । हुम्ला र मुगु मात्रै कम जोखिम क्षेत्रमा छन् । सम्भावित जोखिमप्रति सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

सोमबार रातिदेखि नेपालको मौसमी प्रणाली प्रभावित हुन थालेको हो । बंगालको खाडीमा न्यूनचापीय प्रणाली बनेको र त्यो उत्तरपश्चिमतर्फ सर्दै आएको छ । यसले नेपालमा समेत प्रभाव पार्न थालेको हो । यो प्रणालीले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा गराइरहेको छ । मधेश र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भए पनि बाँकी प्रदेशमा चार दिनसम्म अति भारीसम्म पानी पर्नसक्ने पूर्वानुमान रहेको वरिष्ठ मौसमविद् शान्ति कँडेल बताउनु हुन्छ ।

अहिले भित्रिएको मौसमी प्रणाली आइतबारसम्मै रहने छ । त्यसपछि विस्तारै कमजोर हुँदै जाने छ । नेपालबाट सामान्यतः हरेक वर्ष अक्टोबर २ मा मनसुन बाहिरिन्छ । भारतको राजस्थानबाट मनसुन बाहिरिने क्रम सुरु भइसकेको छ । अहिले देखिएको प्रणालीको प्रभाव सकिएपछि नेपालबाट पनि मनसुन बाहिरिनका लागि अनुकूल वातावरण बन्छ । दसैंअघि नै नेपालबाट मनसुन बाहिरिन्छ वा बाहिरिदैन भन्ने यकिन हुन नसकेको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...