७ बैशाख २०८२, आईतवार

भाषण गरेर देश बन्नेभए जमानामै बनिसक्थ्यो, अब काम गरौंः सांसद शाही

Gyanendra Shahi 1717398467
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले नेपालमा उत्पादित कपडा प्रयोग गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) हिमालयन इन्टरनेश्नल एक्सपो–२०२४ लाई सम्बोधन गर्दै उनले कर्मचारी र जनप्रतिनिधिले नेपालमै उत्पादित कपडा प्रयोग गर्ने हो भने नेपालमा कपडा उद्योगको भविष्य राम्रो रहेको बताएका हुन् ।
त्यस्तै, उनले विदेशबाट आउने कृषि सामाग्रीमा पनि रोक लगाउनुपर्ने बताए । भाषणमात्रै गरेर देश नबन्ने र अब काम गर्न आवश्यक रहेको उनको भनाइ छ । राम्रो कामको लागि वर्तमान सरकारलाई राप्रपाको समर्थन रहेको पनि उनले सुनाए ।

‘तपाईँहरु सरकार चलाउनुस्, तपाईँहरुको सरकारलाई हाम्रो साथ, समर्थन छ, अझै अगाडि बढ्नुस् । जम्मा दुई वटा काम गर्दिनुुस् । एउटा, नेपालका सबै सरकारी कर्मचारीहरुलाई, प्रहरी र जनप्रतिनिधिलाई नेपालमा बनेको कपडा लगाउने नीति बनाइदिनुस् । यो गर्नेबित्तिकै नेपालका कपडा व्यवसायीहरु कहाँ पुग्छन् ? जो–जो कपडा नेपालमा बन्छ, त्यो कपडा विदेशबाट ल्याउन प्रतिबन्ध गर्नुुस् । त्यो पनि गर्न सक्नुहुन्न भने कृषिका सामाग्री विदेशबाट आउँछ त्यसलाई रोक्नुस् त । अनि देश कहाँ पुग्छ । काम केही छैन, हामीले भाषण गरेर मात्रै देश बन्ने भएको भए देश जमानामा बनिसक्थ्यो,’– उनले भने ।

अहिले किसानको अवस्था विजोक रहेको उनले बताए । विष प्रयोग गरिएको विदेशबाट आएका तरकारीलाई रोक लगाएर नेपाली किसानलाई प्रोत्सहान गर्नुे उनले बताए । पछिल्लो समय व्यापार घाटा डरलाग्दो रहेको उनले सुनाए ।

    सम्बन्धित समाचार...