७ बैशाख २०८२, आईतवार

‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक भएसँगै नकारात्मक चर्चा

462186516 917911867037377 4680643642538056388 n

चर्चित चलचित्र श्रृंखला ‘छक्का पञ्जा’को पाँचौं श्रृंखलाको ट्रेलर सार्वजनिक भएसँगै दर्शकको निराशाजनक प्रतिक्रिया सुरु भएको छ।

हास्यरस र सामाजिक विषयवस्तुमा आधारित यस सिरिजका अघिल्ला फिल्महरू सफल भए पनि पाँचौं भागको ट्रेलरले दर्शकलाई उति उत्साहित गर्न सकेन। प्रचार-प्रसारका क्रममा पनि फिल्मले अपेक्षाकृत प्रतिक्रिया पाउन नसकेको अवस्थामा, शनिवार सार्वजनिक ट्रेलरले थप नकारात्मक चर्चा जन्माएको छ।

 यही बिहीबार फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर हेर्दा कमजोर कथा, पुराना पात्रको पुनरावृत्ति, र अभिनयमा कुनै नयाँपन नआएको भन्दै दर्शकहरू असन्तुष्ट देखिएका छन्। विशेषतः, ट्रेलरमा देखिएको कथानकमा विवाह वरिपरि घुमेको पुरानै ढर्रा दोहोरिएको छ, जसले फिल्मप्रति आकर्षण घटाएको छ।

‘छक्का पञ्जा’ श्रृंखलाका ‘राजा’ पात्र अर्थात् अभिनेता दीपकराज गिरी सरकारी कर्मचारीको भूमिकामा छन् । भ्रष्टाचार नगर्ने संकल्प लिएका उनीमाथि आइपर्ने संकट र उमेर ढल्किँदा पनि विवाह हुन नसकेको प्रशंगलाई हाँस्य शैलीमा देखाइएको छ । पछि उनको विवाह अभिनेत्री वर्षा सिवाकोटीसँग हुन्छ । कलाकार केदार घिमिरे (माग्ने बुढा) भने राजा पात्रको साथीको भूमिकामा प्रस्तुत छन् ।

ट्रेलरमा मुख्य पात्रहरू माग्ने बुढा लगायतका कलाकारहरूको अभिनयलाई पनि निकै साधारण भनिएको छ। माग्ने बुढाको चिरपरिचित फ्लेवर दोहोरिएको भन्दै, यसपटक फिल्मले दर्शकलाई अपेक्षित मनोरञ्जन दिन नसक्ने सङ्केत देखिएको छ। ट्रेलरमा नयाँ कलाकारहरू दमन रुपाखेती र ब्रजेश खनाललाई थपिए पनि दमनको भूमिका ट्रेलरमा खासै देखिएको छैन भने ब्रजेशलाई थोरै स्थान दिइएको छ।

फिल्म प्रचारमा दीपकराज गिरी, दीपा श्री निरौला, केदार घिमिरे, र वर्षा सिवाकोटीको उपस्थिति भए पनि ट्रेलरमा आशा गरिएको कुनै नयाँपन देखिएन। विशेषतः वर्षाको अभिनय ट्रेलरमै लाउड सुनिएको छ, जसले उनको भूमिकाप्रति दर्शकमा संशय उत्पन्न गराएको छ।

सामाजिक सन्देश र कमेडीको मिश्रणमा इमान्दार सरकारी कर्मचारीको कथामा केन्द्रित फिल्म बन्ने प्रयास गरिए पनि ट्रेलरमा देखिएको प्रयास निकै फितलो भएको छ। दर्शकहरूले अब फिल्मको प्रदर्शनपछि मात्र यसले कस्तो प्रभाव पार्छ भनेर पर्खाइ गरिरहेका छन्।

दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतको पनि अभिनय छ । फिल्ममा अभिनेता आर्यन सिग्देल केमियो भूमिकामा छन् । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा तथा संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् ।

‘छक्का पञ्जा’को अघिल्ला चार श्रृंखला ब्लकबस्टर भएकाले पाँचौं श्रृंखला पनि सफल हुने आधार बलियो छ । तर, यसपटक चुनौती ठूलो देखिन्छ । फूलपाती (असोज २४)मै अरु दुईवटा नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आउन लागेकाले ‘छक्का पञ्जा ५’लाई असर गर्न सक्ने आँकलन कतिपयको छ भने अहिलेसम्म सार्वजनिक प्रतिक्रियाहरूले फिल्मप्रति दर्शकको अपेक्षा कम हुँदै गएको देखिन्छ।

    सम्बन्धित समाचार...