
बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । बाढी र पहिरोका कारण असोज ११ गतेदेखि अवरुद्ध भएको राजमार्ग आजदेखि सञ्चालनमा आउन लागेको हो ।
राजमार्गका विभिन्न खण्ड बाढी र पहिरोले बगाएकोमा डाइभर्सन बनाएर सञ्चालनमा ल्याउन लागिएको हो । कतै खोलो तर्काएर त कतै एकतर्फीरुपमा सवारी चलाउन मिल्ने गरी अस्थायी रुपमा सडक सञ्चालनमा ल्याउन लागिएको भौतिक तथा पूर्वाधार मन्त्रालयले जनाएको छ ।
यो राजमार्गको काभ्रेभन्ज्याङ-नेपालथोक खन्डको १२ किलोमिटर सडक रोशी खोलाले बगाउँदा यातायात ठप्प बनेको छ । अहिले दाउन्ने-मंगलटार खण्डको काम भइरहेको छ । जुन खण्डमा ५० मिटर सडक बगेको छ । यातायात पुन: सञ्चालन गर्न खोलाका कारण अप्ठ्यारो परेको थियो ।
यो सडक भएर चाडबाडमा दैनिक १० हजार सवारी गुड्ने गरेका छन् ।