
नेकपा (एमाले) का नेता र एवं सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कारबाहीका लागि सिफारिस गरिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको “नेपाली बहस” कार्यक्रमसँगको संवादमा उनले संसदीय विशेष समितिले कारबाहीका लागि स्पष्ट सिफारिस गरेको र अब निर्णय गर्ने जिम्मा सरकारको हातमा रहेको बताए।
थापाले भने, “अब यो कुरा गृहमन्त्री रमेश लेखकलाई सोध्नुस्। कहिले कारबाही गर्नुहुन्छ? हामीले संसदीय समितिका हिसाबले आफ्नो काम पूरा गरिसकेका छौं। सात सदस्यीय समितिले सर्वसम्मतिले कारबाहीको सिफारिस गरेको छ। अब सरकारको कदम कुर्नुपर्छ।”
थापाले संसदमा प्रतिवेदन बुझाइसकेपछि पनि गृहमन्त्री लेखकसँग छलफल भएको र लेखकले कारबाही अगाडि बढ्ने आश्वासन दिएको बताए। “यदि यो प्रतिवेदन लेखकले गृहमन्त्री हुँदा कार्यान्वयन भएन भने आश्चर्य हुनेछ,” उनले भने।
अब रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्ने वा नगर्ने अन्तिम निर्णय सरकारको हातमा छ।