६ बैशाख २०८२, शनिबार

सहकारी ठगी प्रकरणमा कमजोरलाई जेल, बलियालाई उन्मुक्ति दिने प्रयास भएको कांग्रेस नेता साउदको आरोप

np saud
फाइल फोटो

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले सहकारी ठगी प्रकरणमा कमजोरलाई जेलमा राखेर बलियालाई उन्मुक्ति दिने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

शनिबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’मा उनले एकै प्रकृतिको अपराधमा केही व्यक्तिलाई जेलमा राखिएको र केहीलाई खुला छोडिएको देख्दा आफू आश्चर्यचकित भएको बताए ।

साउदले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै भने, “एकै फाइल र एकै केसमा कोही जेलमा छन् भने कोही बाहिर घुमिरहेकाछन् । यो कसरी सम्भव भएको छ? यो सबैका लागि आश्चर्यको विषय बनेको छ ।” उनले संसदले सहकारी प्रकरणको छानबिनमा गरेको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

साउदले निष्पक्ष न्यायको माग गर्दै निर्दोषलाई गलत प्रयोगको हतियार बनाउनु नहुने र दोषीलाई उन्मुक्ति दिनु गलत हुने बताए । “कमजोरलाई जेल र बलियालाई उन्मुक्ति दिने काम गर्न हुँदैन,” उनले थपे ।