८ बैशाख २०८२, सोमबार

काठमाडौंबाट पक्राउ परेका रवि लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै

Rabi Lamichhane
फाइल फोटो

सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै कास्कीको पोखरा लैजाँदै छ ।

लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो । उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गर्नुभयो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

यस्तै, लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ ।

प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान गर्न अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ ।

पत्रमा सहकारी ऐनले परिभाह्सित ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न अदालतले अनुमति दिएको उल्लेख छ ।