
नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारहरूको आगमनको परम्परा झैँ, एक्सन नायक विराज भट्टका छोरा समीर भट्टले ‘१२ गाउँ’बाट धमाकेदार डेब्यु गरेका छन्।
असोज २४ गते दशैंको फूलपातीका अवसरमा रिलिज भएको यो फिल्मले बक्स अफिसमा सुनामी ल्याउँदै ब्लकबस्टरको उपाधि प्राप्त गरेको छ। समीरको क्रेज, सुगठित शरीर, एक्सन शैली र आवाजले दर्शकहरूको मन जित्दै उनलाई भविष्यको एक्सन नायकका रूपमा स्थापित गरिसकेको छ।
भनिन्छ, ‘हरेक १० वर्षमा फिल्म क्षेत्रले नयाँ अनुहार खोज्छ ।’ नेपाली फिल्म क्षेत्रमा यो देखिएको पनि छ । राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठको उदय भएको लगभग १० वर्षपछि निखिल उप्रेती, विराज भट्ट जस्ता एक्सन नायक जन्मिए । त्यसको १० वर्षपछि राजबल्लभ कोइराला, आर्यन सिग्देल, जीवन लुइँटेलको उदय भयो । यो पुस्तापछि आएका सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, अनमोल केसी, प्रदीप खड्काको करिअरले पनि १० वर्षको अवधि पूरा गरिसकेको छ ।
अब फिल्म क्षेत्र हाँक्ने अनुहार को हुन्छ भन्ने चासो बढिरहेको समयमा ‘१२ गाउँ’बाट समीर भट्टको जबर्जस्त रुपमा उदय भएको छ । फिल्मले बक्स अफिसमा सुनामी व्यापार गरिरहँदा समीरको चर्चा उत्कर्षमा छ । उनलाई अबको फिल्म क्षेत्र हाँक्ने नायकको रुपमा समेत चित्रण गर्न थालिएको छ ।
‘१२ गाउँ’ यस वर्षको ‘ब्लकबस्टर’ फिल्म बनिसकेको छ । फिल्म सफल हुनुमा समीरको क्रेज महत्त्वपूर्ण मानिएको छ । रिलिजपूर्व नै उनलाई लिएर दर्शकमा उत्साह देखिएको थियो । फिल्म रिलिजपछि पनि त्यो उत्साह बरकरार रह्यो । उनलाई हेर्नकै लागि हलमा पुग्ने युवापुस्ताको ताँती ठूलो देखिएको छ । र, उनको एक्सन, भ्वाइस, नृत्य र सुगठित शरीरलाई दर्शकले रुचाएका छन् ।
पहिलो फिल्म नै ‘ब्लकबस्टर’ भएकाले सम्भवतः अब समीरले केही वर्ष करिअर फर्केर हेर्नुपर्ने अवस्था नआउन सक्छ । उनको माग चुलिन थालिसकेको छ । त्यसो त समीरको पहिलो फोटो बाहिरिएदेखि नै धेरै मेकरहरु उनलाई लिएर फिल्म बनाउन इच्छुक देखिएका थिए । कतिपय भने ‘१२ गाउँ’को व्यापारिक नतिजा र समीरको काम हेरेपछि मात्र निर्णय लिने सोचमा थिए । अब उनलाई लिएर फिल्म बनाउन मेकरहरुलाई समस्या देखिँदैन ।
पहिलो फिल्मबाटै समीरले विधागत रुपमा आफ्नो कित्ताकाँट गरिसकेका छन् । पिताले झैँ उनले एक्सन बाटो नै रोजेका छन् । र, ‘१२ गाउँ’बाट दर्शकले उनलाई ‘एक्सन नायक’को रुपमा अनुमोदन पनि गरिसकेका छन् । करिब एक दशकदेखि एक्सन फिल्म र एक्सन हिरोको अभावलाई अब समीरले केही हदसम्म परिपूर्ति गर्न सक्ने देखिन्छ । उनको आगमनले अब एक्सन फिल्मको लहर आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । यसैले समीरलाई लिएर फिल्म क्षेत्रले ठूलो अपेक्षा राखेको छ ।
‘१२ गाउँ’मा काम गर्नुभन्दा अगाडि नै समीरले निर्देशक तथा निर्माता सन्तोष सेनको फिल्म ‘बलिदान’ सम्झौता गरेका थिए । पहिला यही फिल्मलाई रिलिज गर्ने तयारी थियो । तर, निर्माणमा ढिलाई हुँदा ‘१२ गाउँ’बाट समीरको डेब्यु भयो । यो फिल्मको सफलताले ‘बलिदान’लाई पनि ठूलो फाइदा पुग्ने निश्चित छ । अब ‘बलिदान’ पनि सफल भएको खण्डमा समीरको युग सुरु हुनसक्छ ।