७ बैशाख २०८२, आईतवार

भिस्तारा एयरको विमानमा बम नरहेको पुष्टि

vistara air

दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत साबित भएको छ ।

विमानमा बम रहेको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टिमले खोजतलासपछि बम नरहेको निश्चित भएको हो ।

यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो । विमानमा बम रहेको सूचना आएपछि यात्रुलाई बाहिर निकालेर सुरक्षाकर्मीहरुले खोजतलास गरेका थिए ।

विमानमा बम रहेको सूचना ह्वाटएपमार्फत आएको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी भइरहेको र अहिलेसम्म कुनै पनि शंकास्पद वस्तु फेला नपरेको जानकारी दिए । उनका अनुसार अहिले विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ चेक भइसकेको छ । लगेज र कार्गोको चेक गरिने छ ।

अहिले काठमाडौँ विमानस्थलको उडान-अवतरण भने नरोकिएको सूचना अधिकारी भूलले बताए । उनले भने, “काठमाडौँ विमानस्थलको उडान नियमित रुपमै सञ्चालन भइरहेको छ, बमको हल्ला रहेको भिस्ताराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न दिइएको छैन ।”

    सम्बन्धित समाचार...