७ बैशाख २०८२, आईतवार

‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’माथि भारी पर्‍यो ‘पूर्ण बहादुरको सारङ्गी’, पाँच दिनमा करिब ५ करोड कलेक्सन

purna ko sarangi

नेपाली सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनपछि दर्शकको चर्चाकाबीच बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। फिल्मको व्यापारबारे सुरुमा ठूलो अपेक्षा नभए पनि बलियो ‘वर्ड अफ माउथ’का कारण यो फिल्मले अनुमान र व्यापारिक गणितलाई उल्टाइदिएको छ।

‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनको पहिलो दिन मात्र ११० शो पाएको थियो भने अकुपेन्सी सामान्य देखिएको थियो। बलिउडका ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’ले प्राथमिकता पाएकाले हल व्यवसायीले फिल्मलाई सीमित शो मात्र दिएका थिए। तर, शनिबारबाट दर्शकको हुटहुटीले फिल्मले बक्स अफिसमा उछाल ल्याएपछि हाल फिल्मलाई देशभर दोब्बर शो दिइएको छ। मंगलबार मात्र देशकै ठूला मल्टीप्लेक्स चेनमध्ये एक, क्यूएफएक्सले ७९ शो दिएर ‘सुपरहिट’को मान्यता समेत दिएको छ।

टिकटकमा फिल्मका भावुक दृश्यहरु भाइरल बनेपछि ‘पूर्ण बहादुरको सारङ्गी’लाई दर्शकको ओइरो लागेको छ। फिल्म हेर्न हल पुगेका दर्शकले भावुक प्रतिक्रिया दिएका भिडियो भाइरल भएपछि फिल्मप्रति दर्शकको आकर्षण झनै बढेको देखिन्छ। फिल्मले पाँच दिनमा ४ करोड ८७ लाख ग्रस कमाइ गरेको वितरकको दाबी छ, जसले फिल्मलाई घरेलु बक्स अफिसमा १० करोड कटाउन सहज हुने अनुमान गरिएको छ।

फिल्ममा अभिनेता विजय बरालले मुख्य भूमिका निर्वाह गरेका छन् भने गायक प्रकाश सपूतले उनको छोराको भूमिकामा अभिनय गरेका छन्। दर्शक र समीक्षकले विजयको अभिनयलाई ‘नेचुरल’ भन्दै प्रशंसा गरेका छन्, जसले उनको करिअरमा ‘टर्निङ पोइन्ट’ ल्याउने अपेक्षा गरिएको छ।

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ एउटा बाबुको सपना र छोराको कथा प्रस्तुत गर्दछ, जसले दर्शकको मन छुने प्रभाव पारेको छ।