
बाढीपहिरोले ठूलो क्षति पुर्याएको एक महिना बित्दासमेत यकिन विवरण संकलन हुन नसकेपछि काभ्रेका बाढीपीडितले अझै राहत पाउन सकेका छैनन् । स्थानीय तहले यकिन विवरण नपठाउँदा काभ्रेको पनौती १२ का बाढीपीडितले खाद्यान्न र अस्थायी बसोबासका लागि वितरण गर्ने भनिएको रकम समेत पाउन नसकेका हुन् ।
गत असोजमा आएको बाढीले काभ्रेको पनौती १२ को रोशी खोला नजिकैको बस्तीकी मनकुमारी तामाङको साढे २ तलाको घर ढल्यो । अहिले उहाँको ४ जनाको परिवार छिमेकीको टहरामा बसेर जीवन चलाउँदैछ ।
६३ वर्षीय शकर तामाङ पनि रोशीले घर बगाएको ठाउँमा ढुङ्गा फुटाउँदै गरेका भेटिए । घर, पशु चौपाया सबै गुमाएका शंकर अहिले ज्याला मजदुरी गरेर जीवन गुजार्नुपर्ने स्थितिमा पुग्नु भएको छ । घर बनाउन पैसा छैन । आम्दानीको स्रोत भैंसीसमेत बाढीले लगेकाले उहाँ थप समस्यामा हुनुहुन्छ ।
यति ठूलो क्षति हुँदासमेत राज्यले केही नहेरेको पीडितहरुको गुनासो छ । उनीहरुको सामूहिक माग छ-कम्तीमा बस्ने ठाउँको प्रबन्ध सरकारले गराइदेओस् । बाढीपहिरोमा परी काभ्रेमा ७८ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपता छन् ।
पीडितहरु बासको व्यवस्था र राहतका लागि अझै सरकारको बाटो हेरिरहेका छन् । तर, क्षतिको यकिन विवरण अझै संकलन हुन सकेको छैन, स्थानीय तह अझै तथ्यांक संकलनकै चरणमा छन् । जसका कारण तत्काल खाद्यान्न र अस्थायी बसोबासको प्रबन्धका लागि वितरण गर्ने भनिएको रकमसमेत पीडितले पाउन सकेका छैनन् ।
सरकारको विपद् कोषमा करिब ३ अर्ब जम्मा
असोजको दोस्रो साता गएको बाढी र पहिरोमा परेकाहरुले राहत नपाएको गुनासो गरिरहेका बेला सरकारको विपद् कोषमा भने झन्डै ३ अर्ब रुपैयाँ जम्मा भएको छ । सरकारले विपद् प्रभावितको पुनर्स्थापनाको काम भने सुरु गरेको छैन ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म १ अर्व ८७ करोड ७७ लाख ३ हजार ५ सय ४७ रुपैयाँ रहेको छ । त्यसैगरी, गृहमन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँभन्दा बढी छ ।
सरकारले विपद्मा परेकाहरुलाई सहयोग गर्न आह्वान गरेपछि प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा भएको हो । कोषमा विभिन्न राजनीतिक दलसहित सरकारी तथा गैरसरकारी कार्यालय तथा दातृ संस्थाहरुले सहयोग गरेका हुन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम मन्त्रिपरिषद्को निर्णयपछि मात्र गृह मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा जम्मा हुने गर्दछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी, पहिरो र डुबानपीडितका लागि कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा गर्ने बताउनुभएको थियो । त्यस्तै कोषमा एक अर्ब रुपैयाँ निकास गर्ने भने पनि अहिलेसम्म भएको छैन ।
यता गृह मन्त्रालयले प्रभावित परिवारलाई अहिलेसम्म ४३ करोड रुपैयाँ जिल्ला विपद कोषमार्फत पठाइसकेको जनाएको छ । मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
त्यसैगरी घरबारविहीन भएका पाँच जनाभन्दा मुनिको परिवारलाई १५ हजार र त्यसभन्दामाथिका परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराइएको गृह मन्त्रालको भनाइ छ । बाढी, पहिरो र डुबानबारे बढी प्रभावित २० जिल्लाका ७१ पालिकालाई सरकारले संकटग्रस्त घोषणा गरेको थियो ।