
काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पुर्जी जारी हुने २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आज पक्राउ पुर्जी जारी गरेका हुन् ।
जिल्ला अदालत काठमाडौँबाट पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । अब जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेलाई काठमाडौं झिकाएर अनुसन्धान गर्नेछ ।
काठमाडौंको स्वर्णलक्ष्मीसहित कास्की (पोखरा) को सूर्यदर्शन, रूपन्देही (बुटवल) को सुप्रिम, चितवन (भरतपुर) को सहारा र पर्सा (वीरगन्ज) को सानो पाइला सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा लामिछाने र जोशीमाथि प्रहरीको अनुसन्धान जारी छ ।
यसअघि लामिछानेलाई कास्कीबाट रुपन्देही झिकाएर बयान लिईएको थियो । सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्तिक २ गते काठमाडौंकोस्थित् पार्टी कार्यालयबाट पक्राउ परेका हुन् ।