७ बैशाख २०८२, आईतवार

‘दुई वर्षको काम ६ महिनाभित्र गर्छु’

dinesh dc
फाइल फोटो

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताएका छन् । यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष डीसीले आफूलाई कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट नरहेको उल्लेख गरे ।

उनले भने, ‘बोर्डमा अध्यक्ष बन्नुभन्दा अगाडि मैले पनि स्वायतता चाहिन्छ भनेर धेरै पटक बोलेको छु । तर यहाँ काम गर्न कुनै रोकावट रहेनछ, स्वायतता छ । त्यसकारण मैले मेरो समूहसँग मिलेर यहाँ भएका सेवालाई चुस्तदुरुस्त बनाउने र आवश्यक सेवा थप्ने गरी काम गरिरहेको छु । मैले गरेका काम आगामी वर्षको वैशाख १ गतेसम्ममा देखिने छ, चलचित्रकर्मीले महसुस गर्ने गरी काम गरेर परिणाम देखाउने छु ।’

अध्यक्ष डीसीले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न, चलचित्र क्षेत्रको इतिहासलाई सङ्ग्रहित गर्न, पटकथालाई सङ्ग्रहित गर्न, आउँदो वर्ष २०८२ वैशाख १ गतेदेखि बक्सअफिसमा ‘रियल टाइम डाटा’ निर्मातालाई उपलब्ध गराउनेलगायतका काम गर्न आफ्नो समूहले अहोरात्र काम गरिरहेको बताए ।