६ बैशाख २०८२, शनिबार

यहि ढंगले काम गरे सरकार ढल्ने नढल्ने कांग्रेसले निर्णय गर्छ : महामन्त्री शर्मा

sharma

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि काम गर्ने गति बढाउनुपर्ने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस लहान कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले बीआरआईमात्रै नभएर अरु पनि विदेशी ऋण थुपारेर विकास योजना ल्याउने पक्षमा कांग्रेस नरहेको स्पष्ट पारेका हुन् ।

मधेश सरकारमा अब कांग्रेसको मुख्यमन्त्री बन्ने बताउँदै उनले भने जनमत पार्टी नेतृत्वको सरकारको विकल्प खोजिन्छ ।

उनले भने, ‘कांग्रेसले अहिलेसम्म मधेशमा मुख्यमन्त्री पाएको छैन । मधेश प्रदेश सरकारको विकल्प खोजिनेछ । कांग्रेस नेतृत्वमा बनाउनुपर्छ । एमाले, कांग्रेस र लोसपा मिल्दा सहजै बन्छ । अहिले मुख्यमन्त्री केन्द्रीय सरकारको कारणले राखेका छौं, तर जेजति काम गराइ भइरहेको छ, त्यो चित्त बुझ्दो छैन ।’

अहिले नै यो सरकार नढल्ने र यही ढंगले काम गरे कांग्रेसले निर्णय गरेर अघि बढ्ने समेत उनको भनाइ छ ।

यस्तै, शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार जनिफ खानसँगै जनताको घरदैलोमा भोट माग्दै हिँडेका महामन्त्री शर्माले नेपाली कांग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर–२ का जनतालाई वडाको उपनिर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे।

उनले तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकसाथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी नेपाली कांग्रेस रहेको भन्दै आफ्नो स्थान र अधिकार सुरक्षित गर्न कांग्रेसको उम्मेदवारलाई भोट दिन आग्रह गरे।

नेता शर्माले यो उपनिर्वाचनले आगामी निर्वाचनको आधार तयार गर्ने भएकाले पनि कांग्रेस विजयी हुनुपर्ने भन्दै नेता तथा कार्यकर्ताले जनता केन्द्रित कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । रामगोपालपुर– २ को वडाध्यक्ष पदमा राजनीतिक दलका सात र ११ स्वतन्त्रसहित १८ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। यहाँ दुई हजार एक सय ४१ जना मतदाता छन् ।