७ बैशाख २०८२, आईतवार

अदालतसमक्ष रविको हारगुहार: श्रीमान म कतै भाग्दिनँ, धरौटीमा छोडिदिनुस्

Rabi 32024 11 12 09 05
फाइल फोटो

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले रविसहित छविलाल जोशीलाई पनि १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबारको थुनछेक बहसमा लामिछानेले न्यायाधीशलाई धरौटीमा छाडिदिन आग्रह गरेका थिए । ‘श्रीमान मकतै भाग्दिनँ, अदालतलाई सहयोग गर्छु, म कतै जाने पनि होइन । धरौटीमा छोडिदिनुस्’ । तर, न्यायाधीश बेलवासेले भने उनीविरुद्ध अन्त पनि उजुरी परेकाले कास्की अदालतले छाडेपनि फेरि पक्राउ पर्ने जानकारी गराएको इजलासमा उपस्थित एक कानून व्यवसायीले जानकारी दिए ।

पूर्व गृहमन्त्री लामिछानेमाथि आज पाँचो पटक म्याद थपिएको हो । लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।

उनलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ । यसअघि उनलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा पोखराबाट रुपन्देही लगेर बयान लिइएको थियो ।

लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।