७ बैशाख २०८२, आईतवार

मानव तस्करीका आरोपित एमाले नेता अधिकारीलाई उन्मुक्ति, मुद्दा नचलाउने निर्णय

lila ballav adhikari

मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनलाई आज रिहा गरिएको हो ।

सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी गत कार्तिक २५ गते पक्राउ गरेका थिए । जापानको अध्यागमन विभागबाट अधिकारीसहित ४ जना डिपोर्ट भएका थिए । उनी जापानको एक कार्यक्रममा भाग लिन जापान गएका थिए ।

जापान जाँदा नक्कली कागजात बनाएर मन्त्रालयसँग असम्बन्धित मान्छे लगेको उनीमाथि आरोप छ । तत्कालीन मन्त्री अधिकारीसँग जापान गएका ३ जनाले आफूहरुले १० लाखदेखि १४ लाखसम्म पैसा तिरेर गएको प्रहरीसमक्ष बयान दिएका छन् ।

सरकारी वकिलको कार्यालय काठमाडौंले मानव तस्करीको आरोपित महेश पाण्डे, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, जुगल रिजाल, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई, वीरबहादुर सुनुवार र योगराज गौतमविरूद्ध मुद्दा दायर गरेको छ । प्रतिवादीहरु योगराज, विष्णुप्रसाद र दिवाकर भने फरार छन् ।

    सम्बन्धित समाचार...