८ बैशाख २०८२, सोमबार

इन्कारी बयान दिँदै आएका रवि लामिछाने आफ्नो हस्ताक्षरसहितको चेक देखेपछि झस्किए, प्रमाण पर्याप्त हुने प्रहरीको दाबी

Rabi 32024 11 12 09 05
फाइल फोटो

सूर्यदर्शन सहकारीको रकम अपलचनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउप्रधान एवं गृहमन्त्री रवि लामिछाने यतिबेला कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

लामिछानेमाथि संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा अदालतको अनुमति लिएर अहिले चार वटा सहकारीको रकम हिनामिनामा थुनामै राखेर एकसाथ अनुसन्धान चलिरहेको छ ।

सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लामिछाने पक्राउ परेलगत्तै उनीविरुद्ध रुपन्देही, चितवन, काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

प्रहरी हिरासतमा रहेका लामिछानेले अहिलेसम्म कास्की र रुपन्देहीमा बयान दिइसकेका छन् । उनले दुवै ठाउँमा सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । सहकारी ठगी प्रकरण छानविनका लागि बनेको संसदीय विशेष समितिलेसमेत सहकारी ठगीमा उनको संलग्नता नरहेको रिपोर्ट तयार गरेको थियो ।

तर, सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएका लामिछाने त्यहाँ जिल खाएका छन् । सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको बयान दिइरहेको अवस्थामा अनुसन्धान अधिकारीहरुले चेक देखाएपछि लामिछाने अक्कनबक्क परेका थिए । उक्त चेक लामिछाने आफैंले हस्ताक्षर गरी सुप्रिम सहकारीलाई दिएका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार आफैंले हस्ताक्षर गरी सुप्रिमलाई दिएको चेक देखेपछि लामिछाने केही समय अलमलमा परेका थिए । ती अनुुसन्धान अधिकारीका अनुसार त्यसपछि लामिछानेले आफ्नो चेक दुरुपयोग भएको जवाफ दिए । गोर्खा मिडियामा कार्यकारी निर्देशक रहेको बेला कहिलेकाहीँ खाली चेकमा समेत हस्ताक्षर गरेर छाड्ने गरेको र त्यो चेक त्यतिबेला नै दुरुपयोग भएका हुनसक्ने लामिछानेले बयानका क्रममा बताएका थिए ।

४० वटा चेकमा रवि लामिछानेको हस्ताक्षर

हिरासतमा रहेका लामिछानले तीन वटा सहकारीमा आफ्नै हस्ताक्षरका ४० वटा चेकबाट ब्याज तिरेको खुलेको छ । प्रहरीले कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी र रूपन्देहीको सुप्रिम सहकारीमा रवि आफैंले ऋणको ब्याज तिरेको चेक बरामद गरेको हो ।

आइतबार म्याद थपका लागि अदालत पुर्‍याइँदा लामिछानेले आफू विरुद्ध कुनै प्रमाण नरहेको दाबी गरे पनि प्रहरीले रकम हिनामिनाका थप तथ्यहरू फेला पारेको छ । उनले तीन वटा सहकारीबाट आफैंले गोर्खा मिडिया ग्रुपका नाममा आएको ऋण तिरेको खुलेको हो ।

लामिछानेले तीन वटा सहकारीमा ब्याज बापतको रकम तिर्न ४० वटा चेक काटेको तथ्य प्रहरीले फेला पारेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेले सूर्यदर्शन सहकारीको ब्याज भुक्तानी गर्न मात्र १५ वटा चेकमा हस्ताक्षर गरेका छन् । सूर्यदर्शन सहकारीबाट लिइएको ऋणको ब्याज तिर्ने क्रममा काटिएका १६ चेकमध्ये एउटामा जीबी राई र १५ वटामा रविकै हस्ताक्षर भेटिएको हो ।

रविले २०७८ साल वैशाख ५ गतेदेखि २०७९ असार ३१ गतेसम्म २२ लाख ३७ हजारको चेकमा हस्ताक्षर गरेका हुन् । त्यस्तै काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा पनि रविले नै ब्याज तिरेका छन् । प्रहरीले बरामद गरेको चेक अनुसार स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा गोर्खा मिडिया ग्रुपले लिएको ऋणको रविले १५ वटा चेक मार्फत ९३ लाख बुझाएका छन् ।

२०७८ वैशाख १० गतेदेखि २०७९ असार ३१ गतेसम्ममा रविले हस्ताक्षर गरेको चेकबाटै स्वर्णलक्ष्मी सहकारीको रकम भुक्तानी भएको खुलेको हो । त्यसैका आधारमा जिल्ला प्रहरी प्रहरी परिसर कठमाडौंले पक्राउ पुर्जी जारी गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । स्वर्णलक्ष्मीबाट रविले व्यक्तिगत ऋण पनि लिएको हुन सक्ने प्रहरीको आशंका छ ।

यता वुटवलस्थित सुप्रिम सहकारीमा पनि रविले नै पैसा बुझाएका छन् । प्रहरीले रविको हस्ताक्षरमा सुप्रिम सहकारीका लागि १० वटा चेक मार्फत रकम भुक्तान गरेको देखिएको हो । २०७८ असार ३ गतेदेखि २०७९ जेठ १७ सम्ममा १० वटा चेक मार्फत ४० लाख भुक्तान गरेको प्रहरी स्रोतले जनाएको छ । उनले तीन वटा सहकारीमा गरी एक करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको देखिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार रविले २० लाखसम्मको चेक बुझाएका छन् । पाँच वटा सहकारीबाट ६७ करोड ७६ लाख रुपैयाँ गोर्खा मिडिया ग्रुपमा आएको तथ्य संसदीय छानविन विशेष समितिले सार्वजनिक गरिसकेको छ ।

सहकारीबाट रकम ल्याएको बारे जानकारी नभएको दाबी गर्दै आएका रवि आफैंले जारी गरेको चेक नै पर्याप्त प्रमाण हुने प्रहरीको दाबी छ ।

त्यसो त यसअघि नै सुप्रिम सहकारी र सूर्यदर्शनबाट रविकै नाममा ऋण जारी भएको भेटिएको थियो । अनुसन्धान गरिरहेको प्रहरीले नयाँ तथ्य प्रस्तुत गरेकै कारण अदालतले लामिछानेलाई हिरासतमा राख्न अनुमति दिइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको दाबी छ ।