
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँले बढाइएको छ।
त्यस्तै, हवाई इन्धनको मूल्यमा पनि वृद्धि भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रति लिटर २ रुपैयाँले महँगो भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर १५ डलरले मूल्य बढाइएको छ।
खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्य बढेर आएपनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्वदेशी मूल्य समायोजन गर्नुपरेको जनाएको छ। यो सँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १६० कायम भएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।
निगमका अनुसार मूल्य समायोजनपछि उपभोक्तामाथि पर्ने असर न्यून बनाउन निगमले प्रयास गरिरहेको छ।
यस मूल्य वृद्धिले सर्वसाधारणमा थप आर्थिक बोझ थपिने अपेक्षा गरिएको छ भने व्यवसायिक क्षेत्रलाई समेत यसको प्रभाव पर्ने देखिन्छ।