८ बैशाख २०८२, सोमबार

विक्रान्त मासेले अभिनयबाट संन्यास लिने

Vikrant Massey

गत वर्षको ब्लकबस्टर फिल्म ‘टुवेल्थ फेल’मा गरेको जीवन्त अभिनयका कारण चर्चामा आएका अभिनेता विक्रान्त मेस्सीले आफ्ना प्रशंसकलाई निराश तुल्याउने एउटा निर्णय गरेका छन् । अब उनले अभिनयबाट विश्राम लिने भएका छन् । आइतबार मध्यरातमा इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले २०२५ मा अन्तिमपटक फिल्ममार्फत् दर्शकसँग भेट्ने जनाएका छन् ।

उनी लेख्छन्, ‘गएको केही वर्ष र त्यसपछिका वर्ष सानदार रह्यो । मलाई दिनुभएको निरन्तरको समर्थनप्रति आभारी छु । तर, म जब-जब अगाडि बढ्छु, तब मलाई महसुस हुन्छ कि अब आफैंलाई फेरि सन्तुलित गर्न र घर फर्किने समय आएको छ । एक पति, पिता, छोरा र अभिनेताको रुपमा पनि । यसैले अब २०२५ मा हामी अन्तिमपटक मिल्नेछौं, जबसम्म समय सही हुँदैन ।’

यतिबेला विक्रान्तको पाइपलाइनमा दुई फिल्म छन्, ‘यार जिगरी’ र ‘आँखों की गुस्ताखियाँ’ । यी दुवै फिल्म आगामी वर्ष २०२५ मा रिलिज हुनेछन् । यसपछि उनले अभिनयबाट विश्राम लिनेछन् । विक्रान्तले अभिनय छाड्न लागेको विषयले उनका प्रशंसकमा ठूलै हलचल मच्चाएको छ । धेरैले यो निर्णय फिर्ता दिन आग्रह गरेका छन् । उनको निर्णयले सेलिब्रेटीहरु समेत आश्चर्यमा परेका छन् ।

विक्रान्तले २०१३ मा आएको फिल्म ‘लुटेरा’बाट बलिउडमा डेब्यु गरेका थिए । यसपछि उनले ‘दिल धडकने दो’, ‘छपाक’, ‘हसीन दिलरूबा’ जस्ता फिल्ममा काम गरे । उनलाई ठूलो लोकप्रियता भने ‘टुवेल्थ फेल’ले दिलायो । यतिबेला हलमा उनी अभिनीत फिल्म ‘द साबरमती रिपोर्ट’ प्रदर्शनरत छ, जसले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।