७ बैशाख २०८२, आईतवार

किन चल्दैछ दीपक-दीपाको समूहबाट केदार बाहिरिएको हल्ला ?

Deepak Kedar1677581741

लोकप्रिय फिल्म श्रृंखला ‘छक्का पन्जा’ को छैटौं संस्करण ‘छक्का पन्जा ६’ वि.सं. २०८४ मा मात्र रिलिज हुने घोषणा गरिएको छ। यसका निर्माता तथा अभिनेता दीपकराज गिरीको टिमले यसपटक बाहिरी ब्यानरसँग सहकार्य गर्ने तयारी गरिरहेको छ।

यसै क्रममा, यो टिमका प्रमुख सदस्य केदार घिमिरे (माग्ने बुढा) बाहिरी ब्यानरका फिल्ममा व्यस्त देखिएका छन्। उनले हालसम्म ‘जेरी अन टप,’ ‘कंगारु’ र ‘माइतीघर’ साइन गरिसकेका छन्। त्यति मात्र होइन, उनले ऋषि लामिछानेको निर्देशनमा बन्ने नयाँ प्रोजेक्ट पनि साइन गरिसकेको पुष्टि भएको छ।

यसरी, केदार धमाधम बाहिरी ब्यानरका फिल्ममा काम गरिरहेका बेला दीपकराज गिरीले पनि बाहिरी टिमसँग सहकार्य गर्दै फिल्म निर्माण गर्ने तयारी गरिरहेको बुझिएको छ।

एक दशकदेखि लगातार पर्दामा सँगै देखिँदै आएका दीपकराज गिरी र केदार घिमिरे केही समयका लागि अलग काम गर्ने भएका छन्। यसरी अलग-अलग परियोजनामा व्यस्त भइरहँदा, दर्शकमाझ उनीहरु अलग भएका हुन् कि भन्ने चर्चा सुरु भएको छ।

तर, स्रोतका अनुसार ‘छक्का पन्जा ६’ लाई समय दिन र फिल्मलाई थप उत्कृष्ट बनाउनका लागि उनीहरुले आ-आफ्नो व्यस्तता सम्हाल्दै अलग-अलग ब्यानरसँग काम गर्ने निर्णय गरेका हुन्। ‘छक्का पन्जा ६’ रिलिजको योजना तीन वर्षपछि मात्र भएकाले उनीहरु हाल छुट्टा-छुट्टै प्रोजेक्टमा व्यस्त भएका हुन्।

‘छक्का पन्जा’ टिमको यो निर्णयले फिल्मप्रेमीलाई केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ। यद्यपि, दीपकराज र केदारको यो व्यावसायिक रणनीतिले फिल्म क्षेत्रलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।