७ बैशाख २०८२, आईतवार

नयाँ वर्षमा त्रिपक्षीय भिडन्तको सम्भावना: राजेश, विपिन र समीरबीच भिडन्त हुने

rajesh hamal bipin karki and samir bhatta

नयाँ वर्ष नेपाली फिल्म उद्योगका लागि ठूलो महत्त्वको समय मानिन्छ। विदा नभए पनि हलमा दर्शकको आकर्षण राम्रो हुने भएकाले यस समयलाई फिल्म रिलिजका लागि उपयुक्त ठानिन्छ। यसै सन्दर्भमा, आगामी नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै तीन ठूला मल्टीस्टारर फिल्महरूको सम्भावित भिडन्तको चर्चा सुरु भएको छ। ती फिल्महरू हुन्– ‘नरसिंहा अवतार’, ‘बलिदान’ र ‘कर्मा’।

सौरभ चौधरीको निर्देशनमा निर्माण हुने फिल्म ‘कर्मा’ ले नयाँ वर्षको तीन दिनअघि, अर्थात् चैत २९ गते प्रदर्शन मिति घोषणा गरिसकेको छ। जबकि, ‘नरसिंहा अवतार’ र ‘बलिदान’ का निर्माताले हालसम्म औपचारिक मिति घोषणा गरेका छैनन्। स्रोतका अनुसार यी दुवै फिल्म नयाँ वर्षकै आसपास रिलिज गर्ने तयारीमा छन्।

‘कर्मा’को छायांकन मंसिरको अन्तिम साताबाट सुरु हुने तयारीमा छ। यसैबीच, ‘नरसिंहा अवतार’ र ‘बलिदान’ले आधाभन्दा बढी छायांकन पूरा गरिसकेका छन्। यी तीन फिल्म एक्सन जनरामा आधारित छन्, जसले गर्दा एउटै जनराका फिल्महरू एकै समयमा रिलिज हुँदा व्यापारमा असर पर्ने विश्लेषण गरिएको छ।

‘नरसिंहा अवतार’लाई अभिनेता राजेश हमालको कमब्याक फिल्मका रूपमा हेरिएको छ। ‘बलिदान’मा समीर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् भने ‘कर्मा’मा विपिन कार्की र उपासना सिंह ठकुरीको अभिनय रहनेछ। तीन फिल्मका स्टारपावर बलियो देखिएकाले भिडन्त अझ रोचक हुने अनुमान गरिएको छ।

एउटै मितिमा तीन ठूला फिल्म प्रदर्शन हुँदा कुनै पनि फिल्मले पर्याप्त शो र दर्शकको ध्यान प्राप्त गर्न सक्दैन। यस्तो अवस्थामा व्यापार डामाडोल हुने खतरा रहन्छ। यद्यपि, यसले चर्चा र प्रचारमा भने सकारात्मक प्रभाव पार्न सक्छ।

‘कल्ली’को रिलिज अन्योलमा
यसअघि नयाँ वर्षकै लागि चैत २९ गते प्रदर्शन गर्ने घोषणा गरिएको फिल्म ‘कल्ली’ ले छायांकनमा ढिलाइ भएकाले उक्त मितिमा रिलिज नहुने सम्भावना बढेको छ।

अब नयाँ वर्ष २०८२ मा तीन फिल्मको भिडन्तले बक्स अफिसमा कस्तो प्रभाव पार्छ, त्यो हेर्न दर्शक उत्सुक छन्।