
एनपीएलमा कर्णाली याक्सले लगातार दोस्रो जित दर्ता गरेको छ। कर्णालीले विराटनगर किंग्सलाई ७ रनले हराएको हो । विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङमा आएको कर्णालीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर एक सय ३३ रन बनायो । जवाफमा विराटनगरले ८ विकेट गुमाएर एक सय २६ रन मात्र बनाउन सक्यो ।
एनपीएलको आजको खेलमा कर्णालीले ओपनिङमा खास प्रदर्शन गर्न सकेन्। शिखर धवन पाँच रन बनाएर प्रतिस जिसीको बलमा बोल्ड भए। त्यसैगरी तेस्रो नम्बरका चाडविक वाल्टनले पनि एक रनको मात्रै योगदान गर्न सके। दुई विकेट गुमाउँदा कर्णालीले ९ रन मात्रै बनाएको थियो। यी विकेट क्रिस सोल र प्रतिस जीसीले हुन्।
त्यसपछि देव खनालले विलियम बोसिस्तोसँग मिलेर एक सय २ रनको साझेदारी गरे। १५ ओभर तीन बलमा देवलाई आउट गराएर बसिर अहमदले यो साझेदारी तोडेका थिए। देवले ४८ बलमा ५३ रनको योगदान गरे। त्यसैगरी, विलियमले पनि ६६ रन बनाए। बाँकी खेलाडीको दोहोरो अंकमा रन नै बनाउन सकेनन्। प्रतिश जिसीले कर्णालीको तल्लो क्रमलाई सहजै समाप्त पारे। उनले ४ ओभर बलिङ गर्दै १७ रन खर्चिएर चार विकेट आफ्नो नाममा गरे। क्रिस सोल र बसिरले समान दुई-दुई विकेट लिए।
जवाफमा विराटनगर किंग्सले पनि राम्रो सुरुआत गर्न सकेन। मार्टिन गप्टिल चार रनमा आउट भए। अकिब इलियास ८ र लोकेश बम १९ रनमा आउट भएपछि विराटनगरले ३४ रन बनाउादा नै तीन विकेट गुमाएको थियो। नरेन भट्ट पनि सात रनमा नै बाहिरिए। विराटनगरको दुई विकेट विपिन शर्माले लिए भने नन्दन यादवले तीन विकेट लिए। निकोलस किरटनले सबैभन्दा धेरै ४० रन बनाए।
सुरुवाती दुई खेल हारेको कर्णाली हिजो चितवन राइनोजमाथि ६ विकेटको जीत हात पार्दै लयमा फर्किएको छ। विराटनगरले चार खेलमध्ये एक खेल मात्र जितेको छ ।
सुदूरपश्चिमको अपराजित यात्रा कायमै
आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले अपराजित यात्रा कायमै राखेको हो ।
यसअघि सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले तथा दोस्रोमा काठमान्डु गुर्खाजलाई ७३ रनले हराएको थियो । लुम्बिनी लायन्सले भने जारी प्रतियोगितामा जित हात पार्न सकेको छैन । आफ्नो तेस्रो खेलसम्म पनि लुम्बिनी जितविहीन छ । १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आज नौ विकेट गुमाएर २० ओभरमा केवल १४२ रन मात्र बनायो ।
आज सुदूरपश्चिमको जितमा सैफ जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र पाँच छक्काको मद्दतमा आक्रामक पारी खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्याए । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले २३ तथा विनोद भण्डारीले १७ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २०५.२६ को स्ट्राइक रेटमा अविजित ३९ रन बनाए ।
लुम्बिनीका लागि बलिङतर्फ रामोन सिम्मोन्ड्सले दुई विकेट लिए । रोहित पौडेल र विवेक यादवले समान एक विकेट लिए ।
ब्याटिङतर्फ लुम्बिनी पारीको सुरूआतमै धरमरायो । पाँच रनमै दुवै ओपनर गुमाएको लुम्बिनीका लागि विवेक यादवले उत्कृष्ट पारी खेल्दै आक्रामक रूपमा ५४ बलमा ७७ रन जोड्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्याए । उनको पारीमा सात छक्का र तीन चौका समावेश थियो । यस्तै सन्दीप जोराले २६ बलमा २० रन बनाए । कप्तान रोहित पौडेल पाँच रनमा पभेलियन फर्किए ।
सुदूरपश्चिमका स्कट कुगेलेजिनले दुई तथा ब्रान्डन म्याकमुलेनले तीन विकेट लिए । ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका जैबले बलिङमा पनि तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए ।