
गोरखा बारपाककी १८ वर्षीया सूचिना घलेको हत्या आरोपमा नियन्त्रणमा लिइएका एक जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
हत्या आरोपमा पक्राउ परेका बारपाक सुलिकोट गाउँपालिका १ का ४३ वर्षीय मनसम्जेर गुरुङलाई प्रहरीले सार्वजनिक गरेको हो । घाँस काटिरहेकी सूचिनालाई एक्लै देखेर बलात्कार प्रयास गर्दा प्रतिकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मंसिर १५ गते घाँस काट्न गएकी बारपाक सुलिकोट गाउँपालिका १ की सूचिना घर नफर्किएपछि खोजी गर्दा ३ दिनपछि जंगलमा गाडिएको अवस्थामा शव भेटिएको थियो ।
प्रहरीले बताए अनुसार मृतक सूचिना र मन शम्जेर छिमेकी हुन् । तर, उनीहरूबीच चिनजान समेत भएको थिएन ।
धार्चे गाउँपालिका–६ काशिगाउँकी सूचिनाको बारपाकका धनबहादुर गुरुङसँग गत वैशाखमा मात्र विवाह भएको थियो । त्यसपश्चात काठमाडौं बस्दै आएका उनीहरू तीन महिना अघिमात्रै गाउँ फर्किएका थिए ।