
नेपाली चलचित्र उद्योगमा हास्य कलाकार केदार घिमिरे अहिले सबैभन्दा महँगा कलाकारको सूचीमा उभिएका छन्। ‘छक्का पञ्जा’ सिरिजबाट आफ्नो लोकप्रियता चरममा पुर्याएका केदारले अनमोल केसीको पारिश्रमिकलाई समेत उछिन्दै हाल प्रतिचलचित्र ६० लाख रुपैयाँ लिन थालेका छन्।
स्रोतका अनुसार केदारले ५० लाख रुपैयाँमा चलचित्र गर्न मान्दैनन्। “हामीले ६० लाख पारिश्रमिक दिएर उहाँलाई हाम्रो चलचित्रमा अनुबन्ध गराएका हौँ,” एक निर्माताले बताए। उनीहरूको भनाइमा, केदारको नाम र लोकप्रियता अहिले पनि बजारमा उच्च छ, जसका कारण निर्माताहरूले ठूलो रकम खर्च गरेर पनि उनलाई आफ्नो प्रोजेक्टमा ल्याउने गरेका छन्।
केदारले पछिल्लो समयमा थुप्रै चलचित्र साइन गरेका छन्। हाल उनी ‘जेरी अन टप’ को छायांकनमा व्यस्त छन् भने ‘माइतीघर’, ‘कांगारु’, र ‘माग्नेराजा’ जस्ता प्रोजेक्टहरूमा समेत काम गर्दैछन्। यस्तै, ‘परालको आगो’ टिमले पनि उनलाई अफर गरेको तर पारिश्रमिकका कारण सम्झौता हुन बाँकी रहेको बताइएको छ।
केदारका धेरैजसो भूमिका सहायक भए पनि उनको हास्यकलाको क्रेजलाई निर्माताहरूले गम्भीर रूपमा लिएका छन्। “उहाँ एक्लैले चलचित्र धान्नु हुन्छ भन्नेमा हामीलाई शंका छ, तर उहाँको क्रेजका कारण उहाँलाई लिएका हौँ,” एक निर्माताले भने।
अनमोल केसीले ५० लाख रुपैयाँ पारिश्रमिक लिएर लामो समयसम्म सबैभन्दा महँगा कलाकारको सूचीमा अग्रस्थान लिएका थिए। तर केदारले पछिल्लो समयको माग र लोकप्रियता अनुसार ६० लाख रुपैयाँ लिन थालेपछि यो कीर्तिमान तोडिएको छ।
केदारका आगामी चलचित्रहरूले कस्तो प्रदर्शन गर्छन् भन्ने हेर्न बाँकी भए पनि उनको नाम र चर्चाले दर्शकलाई हलसम्म तान्न सक्ने विश्वास निर्माताहरूले गरेका छन्। अब केदारको यो सफलता टिकाउ छ वा छैन, त्यो भने समयले नै बताउनेछ।