७ बैशाख २०८२, आईतवार

केदार सबैभन्दा महंगो कलाकार बन्दा जितु खुसी, भन्छन्-म कलालाई पारिश्रमिकसँग तुलना गर्दिनँ

jitu

कुनै समय ‘गीताञ्जली’ सिरियलबाट सहकार्य सुरु गरेका हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) अहिले आफ्नै अलग-अलग यात्रामा छन्। टेलिभिजनदेखि फिल्मसम्म सँगै सहकार्य गरेका यी कलाकारले अहिले छुट्टाछुट्टै मार्ग अपनाउँदै फिल्म उद्योगमा आफ्नो पहिचान बलियो बनाइरहेका छन्।

फिल्म क्षेत्रमा केदार घिमिरे सबैभन्दा महंगा कलाकारको सूचीमा पर्न सफल भएका छन्। स्रोतका अनुसार, उनले एक फिल्मको पारिश्रमिक ५० लाखभन्दा माथि लिने गरेका छन्। भने, जितु नेपालको पारिश्रमिकको आधिकारिक जानकारी नआए पनि उनी एक फिल्मबाट झण्डै १५ लाख लिने चर्चा छ।

रोचक पक्ष के छ भने कुनै समय जितुले ‘गीताञ्जली’ टेलिसिरियलका लागि केदारलाई ३ सय रुपैयाँ तिर्ने गरेका थिए। अहिले केदारको यो उचाइले जितु खुसी छन्। हालै एक कमेडी शोमा पुगेका जितुले भने, ‘त्यसबेला म उहाँलाई बल्लबल्ल ३ सय दिन सक्थेँ। अहिले उहाँ सबैभन्दा महंगा कलाकार हुनु भएकोमा मलाई गर्व छ।’

जितु नेपाल पारिश्रमिकभन्दा आफ्नो कामलाई बढी महत्व दिन्छन्। उनी भन्छन्, ‘भविष्यमा सम्झिने भनेको काम हो, पैसा होइन। कलाकारले कृतिका लागि काम गर्नुपर्छ। मेरो सोच यही हो।’

हाल जितु आफ्नो नयाँ फिल्म ‘कार्साङ’ को प्रचार-प्रसारमा व्यस्त छन्। पुस २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा जितुको जोडी अभिनेत्री दीया मास्केसँग बाँधिएको छ। फिल्ममा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा छन्, जसले दर्शकलाई हँसाउने जितुको विश्वास छ।

‘कार्साङ’मा जितुले अभिनेता दयाहाङ राईको साथीको भूमिकामा अभिनय गरेका छन्। पत्रकारले ‘दयाहाङको पछि लागेर हिट हुने योजना बनाएको हो?’ भनी सोध्दा उनले मजाकमै भने, ‘दयाहाङजस्तो कलाकारको पछि लाग्नु नराम्रो कुरा हो र? म त सबै कलाकारको पछि लाग्न चाहन्छु।’

जितु र केदारको मित्रता र छुट्टाछुट्टै यात्राले नेपाली फिल्म उद्योगमा छुट्टै रंग थपेको छ। एक जना सबैभन्दा महंगा कलाकार बनेका छन् भने अर्कोले कामलाई नै आफ्नो प्राथमिकता मानेका छन्। उनीहरूको सफलताले नेपाली फिल्म क्षेत्रलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार...