७ बैशाख २०८२, आईतवार

ललितपुर महानगरलाई प्रधानमन्त्री ओलीको प्रशंसा, बालेनलाई ब्यंग्य

oli 1

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर नगर प्रहरीको प्रशंसा गर्दै काठमाडौंका महानगरका प्रमुख बालेन शाहप्रति ब्यंग्य गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरीले गरिबका तरकारी फ्याँकेको आफूले नदेखेको भन्दै शाहलाई ब्यंग्य गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ ललितपुर नगर प्रहरीले गुरर्र जिपमा कुदेर आएर अर्कै लोकको केही आएझैं झ्याप्प गाडी रोकेर गङद्र्‍याङ गङद्र्‍याङ गर्दै फाल हानेर पिरपिर सिठी बझाउँदै आतंक छाउँदै ठेला फाल्दै गरिबका तरकारी टमाटर फ्याँकेको मैले देखेको छैन ।’

ललितपुरका नगर प्रहरी आतंकको पर्याय नभएको भन्दै प्रधानमन्त्री ओलीले धन्यवाद समेत दिनुभयो । ‘तपाईंहरु आतंकको पर्याय होइन,’ उहाँले भन्नुभयो, ‘तपाईंहरुलाई जनताले देख्दा सुरिक्षत महशुस गर्नुपर्छ । तपाईंहरुलाई देख्दा जनताले हाम्रा रक्षकहरु आए भन्ने ठान्नु पर्छ । कोही घडी फुकालेर खल्तीमा हाल्ने कोही सिक्री लुकाउने अवस्था नहोस् ।’

यस्तै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि घमण्ड नगरी जनताको सेवामा तल्लीन हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राज्यकोषबाट पारिश्रमिक लिने सबै जनताका सेवक हो, राष्ट्र सेवक हो । जनताको प्रतिनिधि हुँ । देश र जनताको सेवक हुँ, देश र जनताको संवर्द्धन गर्ने काम म छाड्दिनँ भन्ने भावना हुनुपर्छ । जनप्रतिनिधि होस् वा कर्मचारी हुन् हाकिम हुँ भन्ने प्रवृत्ति हुनु हुँदैन । घमण्ड हुनु हुँदैन । मस्तिष्कमा घमण्ड पसेपछि राम्रो चिज केही पनि पस्न पाउँदैन ।’

‘ललितपुर नगरी प्रहरीले गुर्र जिपमा कुदेर अर्कै लोकको केही आएझैं कुदेर आयो, झ्याप्प गाडी रोकेर गन्द्र्याङगन्द्र्याङ फाल हानेर पिरपिर सिट्ठी बजाउँदै आतंक छाउँदै यता फाल्दै उता फाल्दै ठेला फाल्दै अर्को चिज गर्दै गरिबका तरकारी टमाटर फाल्दै त्यस्तो गरेको मैले देखेको छैन । म ललितपुर नगर प्रहरीलाई धन्यवाद दिन चाहन्छु । तपाईंहरू आतंकको पर्याय होइन । तपाईंहरूबाट जनताले सुरक्षित महसुस गर्नुपर्दछ । तपाईंहरूलाई देख्दा जनताले हाम्रा रक्षकहरू आए भन्ने ठान्नुपर्दछ । लौ आयो कता भागौँ भन्ने स्थिति हुनुहुन्न,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।