७ बैशाख २०८२, आईतवार

अलटाइम रेकर्ड तोड्ने बाटोमा ‘पुष्पा २’

Pushpa 2early reviews 1733387161308 1733387161629

भारतीय बक्स अफिसमा ‘पुष्पा २’को गति अझै मत्थर हुने छाँटकाँट देखिँदैन । दोस्रो हप्तामा पनि व्यापारिक रफ्तार निकै बलियो छ । फिल्मको व्यापार हिन्दी भर्सनमा मात्र ६ सय करोड पुग्न लागेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले दोस्रो हप्ताको सोमबारसम्म हिन्दी भर्सनमा ५८८ करोड नेट कमाएको छ । दोस्रो सोमबार फिल्मको कमाइ २० करोड ५० लाख रह्यो ।

बलिउड फिल्मको नाममा रहेको एकपछि अर्को व्यापारिक रेकर्ड तोड्दै आइरहेको ‘पुष्पा २’ अब अर्को एउटा ‘अलटाइम’ रेकर्ड तोड्ने बाटोमा छ । त्यो हो, बलिउड फिल्म ‘स्त्री २’ले बनाएको ऐतिहासिक रेकर्ड । यसले भारतीय बक्स अफिसमा ६२७ करोड लाइफटाइम कलेक्सनसहित सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड बनाएको छ । यो रेकर्ड ‘पुष्पा २’ले यसै साताको बुधबार वा बिहीबारसम्म तोड्ने प्रक्षेपण गरिएको छ ।

‘स्त्री २’को रेकर्ड तोडेको खण्डमा ‘पुष्पा २’ हिन्दीमा सर्वाधिक कमाइ गर्ने पहिलो भारतीय फिल्म हुनेछ । फिल्मको रफ्तार हेर्दा यसले हिन्दी भाषामा सजिलै ७ सय करोड कमाउन सक्ने देखिन्छ । त्यसो त फिल्मको नेट इन्डिया कलेक्सन ९२९ करोड (हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालमसहित) पुगिसकेको छ भने ग्रस कलेक्सन ११ सय करोडमाथि छ । फिल्मले तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा मात्र १२ दिनमा ३४१ करोड नेट कमाइ गरेको ट्रेड पोर्टल स्याकेनिल्कले जनाएको छ ।

त्यस्तै, फिल्मको विश्वव्यापी कमाइ १४ सय करोड पुगेको छ । यसले ‘आरआरआर’को १२७५ करोडको विश्वव्यापी कमाइलाई उछिन्दै विश्वभर तेस्रो धेरै कमाउने भारतीय फिल्मको रेकर्ड बनाइसकेको छ । अब दोस्रो स्थान हासिल गर्न ‘पुष्पा २’ले ‘बाहुबली २’को नाममा रहेको विश्वव्यापी १८१० करोडमाथिको कमाइ गर्नुपर्ने हुन्छ । पहिलो नम्बरमा भने २ हजार करोडसहित ‘दंगल’ छ ।

यता, चार दिन अघि १३ डिसेम्बरमा सन्ध्या थिएटरबाहिर भएको भाग दौडमा एक महिला मारिएकी थिइन् । सोही घटनापछि अभिनेता अल्लु अर्जुनलाई प्रहरीले गिरफ्तार गरेको थियो । यद्यपि केही समय पछि उनी रिहा भएका थिए । त्यसपछि पुष्पा-२ ले बक्स अफिसमा झन् तुफान ल्याएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

अल्लुको पक्राउपछि बक्स अफिसमा फिल्मको पकड कमजोर हुने आकलन गरिएकामा झन् बढेको आजतकले जनाएको छ ।

सुकुमारको लेखन तथा निर्देशनमा तयार भएको ‘पुष्पा २’मा अल्लू अर्जुन, रश्मिका मन्दाना, फहद फासिल, सुनिल वर्मा लगायतको अभिनय छ । रक्तचन्दन काठको तस्करीमा ठूलो साम्राज्य खडा गरेको पुष्पराज पात्र (अल्लू अर्जुन)को वरिपरि फिल्मको कथा केन्द्रित छ । ५ सय करोड भारुमा बनेको फिल्मका लागि अल्लू अर्जुनले मात्र ३ सय करोड पारिश्रमिक बुझेका थिए ।