७ बैशाख २०८२, आईतवार

केन्याबाट अदानी समुहलाई निकाल्ने नायक ‘नेल्सन अमेन्या’

adani deal

केन्यामा सरकारी र निजी कम्पनीहरू बीचको सम्झौतामा अझ बढी पारदर्शिताको लागि अभियान चलाउने समूहले एक व्यवसायी विद्यार्थीलाई नायकको रूपमा सम्मान गर्दैछ । यी विद्यार्थीको नाम नेल्सन अमेन्या हो । केन्याको हालको इतिहास भ्रष्टाचारले दागिएको मेगा सम्झौताका कथाहरूले भरिएको छ । भ्रष्टाचार नियन्त्रणका लागि कानुन बने पनि कारोबारमा भ्रष्टाचार कायमै रहेको आशंका जनतामा छ ।

३० वर्षीय नेल्सन अमेन्या फ्रान्समा एमबीए पढ्दै छन् । उनले यसअघि सन् २०१३ देखि २०१७ सम्म मोई विश्वविद्यालयबाट सञ्चार र मिडिया अध्ययनमा विशेषज्ञता हासिल गर्दै ग्राफिक कम्युनिकेसन र विज्ञापनमा स्नातक गरेका थिए।

अमेन्याले न्यारी ब्याप्टिस्ट उच्च मावि अध्ययन गर्नुअघि मुथाइगा प्राथमिक विद्यालयमा पढेका थिए। जहाँ उनले सन् २००८ देखि २०११ सम्म आफ्नो उच्च मावि तहको शिक्षा पूरा गरे।

हाल अमेन्या लन्डन क्षेत्रको मेगी हेल्थमा ग्रीष्मकालीन इन्टर्नका रुपमा सेवा गर्दछन्। जहाँ उनी जुन २०२४ देखि संलग्न छन्। उनले मे २०२३ देखि पूर्वी अफ्रिका, दक्षिणी अफ्रिका र सहेल क्षेत्रहरुमा कार्बन अफसेट परियोजनाहरु विकास गर्न समर्पित, नैरोबी काउन्टी, केन्यामा रहेको जलवायु वित्त कम्पनी अफ्रिनेट कार्बनको सह–स्थापना गरेका थिए।

नेल्सन अमेन्याले नैरोबीको माजिद अल फुट्टैममा काम गरे। जहाँ उनले मे २०२० देखि अगस्त २०२३ सम्म केन्या मुख्य कार्यालयमा क्रिएटिभ म्यानेजरका रुपमा सेवा गरे। उनलाई केन्या र युगान्डाका लागि ब्रान्डिङ÷डेकोरेसन विभागको व्यवस्थापन गर्ने जिम्मा दिइएको थियो।

उनले केन्या र अदानी समूहबीचको प्रस्तावित सम्झौताको बारेमा यसै वर्ष जुलाईमा सामाजिक सञ्जालमा केही जानकारी लीक गरेका थिए । यसले देश र क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा चिन्ता बढाएको थियो । लामो समयदेखि यो विमानस्थलको आधुनिकीकरणको पर्खाइमा रहेको छ । नेल्सनले प्रस्तावित सम्झौताको जानकारी लीक गरेपछि भ्रष्टाचार विरोधी कार्यकर्ताको रूपमा मान्यता प्राप्त गर्दै आएका छन् ।

दस्तावेजका अनुसार विमानस्थललाई आधुनिकीकरण गर्न र अदानीलाई ३० वर्षका लागि सञ्चालन भाडामा दिने गरी दुई अर्ब डलरको सम्झौता प्रस्ताव गरिएको थियो । कागजात पढ्दै, नेल्सनले महसुस गरे कि यदि सम्झौता अगाडि बढ्यो भने, यसले केन्याको अर्थतन्त्रको लागि हानिकारक साबित हुन सक्छ र सबै नाफा भारतीय बहुराष्ट्रिय कम्पनिलाई जान्छ ।
उनले सम्झौताको बारेमा पढेका कुराहरूबाट केन्याले खर्चको ठुलो हिस्सा बेहोर्नुपर्‍यो तर त्यसबाट समान आर्थिक लाभ प्राप्त गर्न नसक्ने भएकाले सम्झौता राम्रो भएको नदेखिको आम जनतामा बुझाउने अभियान नै चलाए ।

नेल्सनले आफुलाई प्राप्त कागजातहरू सार्बजनिक गरे र आम मानिसलाई बुझाउने अभियान चलाए । नेल्सनले राष्ट्रपति, केन्या एयरपोर्ट प्राधिकरण र मन्त्रीहरू सबैले जनताको विश्वास तोडे र सबैले जनतालाई धोका दिएको बताए । हातमा प्रमाण भए पनि, नेल्सन अमेन्या अब के गर्ने भनेर सोच्न बाध्य भए । उनी आफैं खतरामा थिए । यद्यपि, केन्याको सट्टा फ्रान्समा बस्नु उनको लागि फाइदाजनक थियो।

उनले आफु शुरुमा अलिकति डराएको र आफुलाई केहि हुन्छ की भन्ने रहेको बताए । उनले आफ्नो करियर र आफ्नो जीवनलाई जोखिममा राख्दै यो अभियान चलाएका थिए । धेरै हप्तासम्म कागजातहरू ध्यानपूर्वक पढेपछि, नेल्सन अमेन्याले जुलाईमा सोशल मिडिया प्लेटफर्म एक्समा लीक गरे । त्यसको लगत्तै केन्यामा हंगामा मच्चियो ।
एयरपोर्टका कर्मचारीहरूले यो सम्झौता रद्द गर्न माग गर्दै हडताल सुरु गरे ।

नेल्सनले यो मेरो देशप्रतिको मेरो कर्तव्य सम्झेर लिक गरेको बताए । उनले आफु देशबाट टाढा भए पनि देशप्रतिको कर्तव्य रहेको बताए । विमानस्थल सम्बन्धमा भएको सम्झौताले अब के हुन सक्छ भन्ने पूर्वचित्रण भएको भन्दै उनी चिन्तित थिए । नेल्सनले सम्झौताको असामान्य सर्तहरू र पारदर्शिताको अभावको बारेमा मात्र होइन । केन्याका कानुनहरूलाई पनि व्यवस्थित रूपमा बेवास्ता गरिएको देखिएको आरोप लगाए । उनी भन्छन्, ‘कम्पनीका लागि अधिकारीहरूले कहिल्यै उचित कदम चालेनन् र उचित प्रक्रिया पनि पालना गरेनन् ।’

उनीहरूले केही सरकारी अधिकारीहरूले कानुनी आवश्यकतालाई बाइपास गर्न खोजेको आरोप लगाउँछन्, जसमा सर्वसाधारणको सल्लाह लिने अर्थात् सार्वजनिक परामर्श पनि समावेश थियो । सरकारले करदाताको पैसा गलत तरिकाले खर्च गर्न नपरोस् भनेर यी कार्यविधि बनाइएको हो । अप्रिलमा, प्रस्तावित सम्झौतामा केन्या एयरपोर्ट्स अथोरिटीको सरोकारवालाहरूसँग परामर्श गर्ने कुनै योजना नरहेको एक रिपोर्टले खुलासा गर्‍यो । नेल्सन अमेन्याले भने, ‘यो अप्रिल महिनाको कुरा हो, जुलाईमा मैले सामाजिक सञ्जालमा कागजात चुहावट गरिरहेको थिएँ, त्यतिबेला पनि सर्वसाधारणलाई यस मामिलामा सहभागी हुन दिएनन् अर्थात् सार्वजनिक सहभागिता थिएन । यो सम्झौता एकदमै गोप्य ढंगले भइरहेको थियो र उनले एक महिनापछि हस्ताक्षर गर्न लागेका हुन् ।’

उनले बिबिसीसँगको कुराकानीमा भने- जब मैले यो सम्झौता सम्बन्धी कागजातहरू प्रस्तुत गरें, सरकारले हतारमा सार्वजनिक सरोकारवाला भएको नाटक गर्‍यो । उनीहरूले केन्या एयरपोर्ट्स प्राधिकरणका कर्मचारीहरूलाई बोलाए र सरोकारवालाहरूसँग बैठकहरू गर्न थाले ।’ केन्याका धेरै अधिकारीहरू र सरकारी विभागहरूले प्रक्रियाभरि भ्रष्टाचारको आरोप अस्वीकार गरे र त्यसपछि अदानी समूहसँग अर्को सम्झौतामा हस्ताक्षर गर्न अगाडि बढे जसमा बिजुली लाइनहरूको निर्माण समावेश थियो । यो सम्झौता पनि करोडौंको थियो । अदानी समूहले नेल्सन अमेन्याको दाबी निराधार र दुर्भावनापूर्ण भएको बतायो ।

अदानी समूहले आफ्नो विज्ञप्तिमा ऊर्जा क्षेत्रमा आफ्नो सम्झौता पूर्ण पारदर्शी भएको र कम्पनीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेको बताएको छ । कम्पनीले जुनसुकै आयोजना सुरु गर्छ त्यो सम्बन्धित देशको कानुनबमोजिम हुने बतायो । तर नेल्सनका कारणले मात्रै सरकारले आफ्नो सोच परिवर्तन गरेको होइन ।

गौतम अडानीले अमेरिकामा आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस लिएको आरोप लागेको थियो । यो खबर आएपछि केन्या सरकारले कारबाही शुरु गरेको थियो ।

गत महिना केन्याका राष्ट्रपति विलियम रुटोले संसदमा अडानी समूहसँगको दुवै सम्झौता रद्द गरेको घोषणा गरेका थिए । विलियम रुटोले संसदमा दिएको सम्बोधनमा भने, ‘म ठोस प्रमाण वा विश्वसनीय जानकारी भएमा निर्णायक कारबाही गर्न हिचकिचाउने छैन ।’ उनको भनाइलाई जनताले ताली बजाएर स्वागत गरे । विलियम रुटोले यो निर्णय लिन सहयोग गरेकोमा अनुसन्धान एजेन्सीहरू र सहयोगी देशहरूलाई श्रेय दिए ।

राष्ट्रपतिको घोषणापछि नेल्सनले भने, ‘जब राष्ट्रपतिले यो घोषणा गर्नुभयो, म कक्षामा थिएँ । मलाई विश्वास लागेन । मेरो आँखामा आँसु थियो । म धेरै खुसी थिएँ ।’ कक्षा सकिएको ४० मिनेटपछि उनले ट्विट गरे, ‘अदानीलाई अलविदा ।’ यो ट्विट भाइरल बनेको थियो ।

यद्यपि, उनले महिनौंको व्यक्तिगत संघर्ष र दबाब पछि यो जित भएको महसुस गरे, एयरपोर्ट सम्झौता सार्वजनिक भएपछि, नेल्सनलाई अदानी समूह र एक केन्याली राजनीतिज्ञले मानहानीको मुद्दा दायर गरे । नेल्सन भन्छन्, ‘सरकारमा काम गर्ने केही व्यक्तिहरू मकहाँ आउँदै थिए । मुद्दा न लड्न पैसा दिन तयार थिए । पैसा लिएर सरकारसँगको लडाइ बन्द गर भन्थे ।’

यसअघिका घटनाहरू सम्झँदै नेल्सनले भने, ‘त्याग गर्नु मेरो जीवनको सबैभन्दा ठूलो गल्ती हुने थियो । यो केन्याली जनताको विश्वासघात हुने थियो ।’ सम्झौता रद्द गरिसकेपछि पनि, विलियम रुटोले किन केन्यालीहरूले यसको विरोध गरे र उनका अन्य धेरै परियोजनाहरू सोध्छन् । उनले विमानस्थललाई आधुनिकीकरण गर्ने बाटो खोज्ने बताए ।

डिसेम्बरमा एक सार्वजनिक कार्यक्रममा विलियम रुटोले सोधे, ‘विमानस्थललाई सुधार्नबाट रोक्नेलाई नायक भनिएको मैले देखेको छु । नायक ? तपाईंले आफ्नो देशमा विमानस्थल निर्माण रोकेर के फाइदा गर्नुहुन्छ ? तपाईलाई थाहा छैन यो कसरी बन्ने हो । विरोध गर्ने मानिसहरूले कहिल्यै एयरपोर्ट भित्र पसेका छैनन् । तपाईं केवल विरोध गर्न चाहनुहुन्छ ।’

यसैबीच, नेल्सन अमेन्याले अझै मानहानीको मुद्दा सामना गर्नुपर्नेछ । उनी आफ्नो कानुनी लडाइका लागि पैसा जम्मा गर्न चाहन्छन् र त्यसका लागि कोष सङ्कलन गरिरहेका छन् । केन्यामा आफ्नो भविष्य अनिश्चित रहेको उनी बताउँछन् । नेल्सनले भने, ‘मलाई विश्वसनीय खुफिया एजेन्सीहरूबाट धम्की आएको थियो र केन्याका धेरै मानिसहरूले मलाई नफर्किन चेतावनी दिएका थिए। स्पष्ट रूपमा मैले गरेको काममा धेरै मानिसहरू क्रोधित छन् ।’ नेल्सनले यी सबैको लागि ठूलो मूल्य तिर्न पर्छ, र उनी त्यसो गर्न तयार रहेको बताउछन् ।

    सम्बन्धित समाचार...