
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेभित्र धेरै उकुसमुकुस बढेको भन्दै ओली पार्टी नेतृत्वबाट हटेमा माहोल शान्त हुने बताउनुभएको हो ।
ओलीले पार्टीको नेतृत्वमा रहेर निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा लिनुभएका निर्णयहरू असफल भइसकेको बताउँदै उहाँले पार्टी नेतृत्वबाट हट्न सुझाव दिनुभएको हो । “कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ । निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो । उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो”, उहाँले भन्नुभयो ।
उहाँले नेता भीम रावललाई पार्टीले निष्कासन गरेको विषयमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो । उहाँले यसबारे आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यति वेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । जसले चाकरी गर्दैन, त्यो शत्रु हो । शत्रु होइन भने त्यसले चाकरी गर्छ । उहाँको आम रूपमा संसारलाई हेर्ने दृष्टिकोण त्यस्तो छ । भीम रावलले चाकरी गरेनन्, यद्यपि त्यहाँ बसेका सबैले चाकरी गर्दछन्, यस्तो पनि नठान्नुस् ।”
उहाँले एमाले पार्टी आफूहरूले लडेर बनाएको र एमालेमा आफ्ना साथीहरू भएको बताउँदै उहाँहरू पनि उकुसमुकुसमा रहेको बताउनुभयो । यस्तै उहाँले नेता रावललाई आफ्नो पार्टीमा आउन समेत आह्वान गर्नुभयो ।