
नेपाली कलाकारहरूको लोकप्रियता प्रायः महोत्सवमा बढी देखिने गरेको छ, र अभिनेता पल शाह पनि यस प्रवृत्तिबाट अछुतो छैनन्। एक वर्ष लामो जेल जीवनपछि उनी निरन्तर महोत्सवहरूमा उपस्थिति जनाइरहेका छन्, जहाँ उनलाई हेर्न दर्शकहरूको ठूलो भीड देखिन्छ। महोत्सव आयोजकहरू समेत पलकै कारण राम्रो आम्दानी गरिरहेका छन्। तर, यिनै पललाई लिएर फिल्म निर्माण गरेका निर्माता भने करोडौंको नोक्सानमा परेका छन्।
पल शाहले जेल जीवनपछि काम गरेका तीन फिल्म ‘मायावी’, ‘पूजार सार्की’ र ‘रावायण’ यस वर्ष प्रदर्शनमा आए। तीमध्ये ‘पूजार सार्की’ मात्र व्यावसायिक रूपमा सफल रह्यो। तर, उक्त फिल्ममा अभिनेता प्रदीप खड्काको भूमिका प्रभावशाली बनेपछि सफलताको श्रेय पनि उनैले लिए। यसले पललाई केही राहत दिए पनि उनको फिल्मी करिअरलाई पुनः बलियो बनाउन भने सकेन।
पलले ‘रावायण’बाट ठूलो आशा राखेका थिए। तर, उनको गेटअपप्रति भएको आलोचनाले फिल्मलाई नै कमजोर बनायो, जसका कारण फिल्मले राम्रो प्रदर्शन गर्न सकेन। त्यसपछि शिवरात्रिको अवसर पारेर ‘मायावी’ प्रदर्शन गरियो। महोत्सवहरूमा फिल्मको प्रचार गर्दा दर्शकहरूको उल्लेखनीय भीड देखिए पनि हलमा भने उस्तै क्रेज देखिएन। नतिजा, ‘मायावी’ फ्लप भयो, जसको कमाइ ७० लाख रुपैयाँसम्म पनि पुगेन।
लगातार दुई फिल्म असफल भएपछि पल शाहको लोकप्रियता महोत्सवमा मात्र सीमित भएको टिप्पणी हुन थालेको छ। महोत्सवमा उनलाई हेर्न उर्लिने भीड हलमा किन देखिँदैन भन्ने विषयमा अब उनले गम्भीर रूपमा सोच्नुपर्ने देखिन्छ। कतै महोत्सव र म्यूजिक भिडियोहरूमा अत्यधिक देखिँदा उनका फिल्मप्रति दर्शकको रुचि घटेको त होइन? यो प्रश्नको उत्तर खोज्नु अहिले उनको करिअरका लागि अनिवार्य देखिन्छ।