
काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यू आदेश शनिबार बिहान ७ बजेसम्मका लागि लम्बिएको छ ।
काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर कर्फ्यूको समय बढेको जानकारी दिएको छ ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।
प्रदर्शनकारीहरूले निजी घर, गाडी, मिडिया हाउस र दलका कार्यालयमा आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको हो ।
शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । कर्फ्यु नै जारी भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका छन् ।
