
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ ।
गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५:४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए।
सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए। घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो। मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् ।
घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ।
ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए।
उनले घरका अन्य सदस्य घरमुली प्रेम विक र उनकि श्रीमती भने सकुशल रहेको जानकारी दिए ।
‘पहिरो गएको कतिबेला हो भन्ने नै एकिन भएन । हामीले पनि बिहान मात्रै थाहा पायौं,’ प्रवक्ता हमालले भने, ‘जानकारी हुने बित्तिकै टोली पुगेर शव बाहिर निकालिसकेका छौं ।’
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए।
उनले प्रेम विकको बुहारी छोरीसहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेको जानकारी दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थल पुगिसकेको प्रवक्ता हमालले बताए ।