
नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।
पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको गण्डक ब्यारेज अविरल वर्षापछि नारायणी नदीमा पानीको बहाव उच्च भएसँगै ब्यारेजका सबै ढोका खोलिएको हो ।
ब्यारेजमा ३६ वटा ढोका रहेका छन् । नदीमा पानीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको जनाइएको छ । सोमबार बेलुका ब्यारेजमा यो वर्षको सबैभन्दा बढी तीन लाख १५ हजार क्यूसेक पानी प्रवाह भइरहेको जनाइएको छ । जबकि ३ लाख प्रतिक्यूसेक पानीको प्रवाहलाई खतराको सूचक मानिने गरिन्छ ।
नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए । सोमबार ९ बजे ब्यारेजमा तीन लाख १५ हजार क्यूसेक पानी प्रवाह भइरहेको छ । तीन लाख प्रतिक्यूसेक पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको सिहंले बताए ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेज वपिरिका स्थानीयलाई सजगता अपनाउन आग्रह गरेको छ ।
निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक भए पनि अहिले यसले ४ देखि ५ लाख क्यूसेक मात्र वहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले गण्डक क्षेत्रको सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्रमा सजगता अपनाउन र बाढीको पूर्व सूचना प्रवाह गरिएको बताए ।
त्यस्तै तटीय क्षेत्रमा सम्भावित विपतलाई मध्यनजर गर्दै उद्धारका लागि सुरक्षाकर्मीलाई अलर्टमा राखिएको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।