
अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको छ ।
चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको पोखरी फुटेर नेपालमा क्षति पुग्न सक्ने भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।
चिनियाँ अधिकारीहरुबाट न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रशासनले सोमबार सूचना जारी अविरल वर्षाका कारण चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्ने जोखिममा रहेको भन्दै नागरिकलाई सुरक्षित ठाउँमा लैजाने व्यवस्था मिलाउन समितिलाई अनुरोध गरेको हो ।
लगातारको वर्षाले सो पोखरी फुट्न सक्ने सूचना चीनको समकक्षी दोभाषेमार्फत जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ।
‘उनीहरुले आफ्ना नागरिकलाई भटाभट माथिल्लो भागमा सारिरहेका छन्’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘त्यही भएर हामीले पनि सतर्कता अपनाउनु पर्ने भएको छ ।’
पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ ।
उक्त पोखरी फुट्न गएमा भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको वहाव अत्याधिक बढ्ने र त्यसले किनाराका बस्ती डुबानमा पर्ने भएकाले उक्त क्षेत्र छोडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन प्रशासनले सम्बद्ध पक्षलाई आग्रह गरेको छ। साथै नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको ढकालले बताए ।
बह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका नदी किनारका क्षेत्रमा जोखिम बढेको भन्दै प्रशासनले ती क्षेत्रमा सतर्कता अपनाउन सरोकारवाला तथा स्थानीयलाई आग्रह गरेको छ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पालेपनि नदी आसपासका बासिन्दालाई सडकभन्दा माथितिर आएर बस्न आह्वान गरिएको बताए । उनका अनुसार केरुङ च्छो (दूधपोखरी)फुट्यो भने कल्पना गर्न नसकिने क्षति हुनेछ र सबैभन्दा बढी क्षति बाह्रबिसेमा हुनेछ ।
तातोपानी नाकाबाट ६ घण्टा हिडेर पुगिने उक्त पोखरीमा ठूलो छाल सधैं आउने गरेको र भूकम्पपछि पनि एकपटक यस्तै खतराको सूचना प्राप्त भएको शेर्पाले बताए ।
