
अविरल वर्षासँगैको बाढी उर्लेर आउँदा नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।
सोमबार मध्यान्ह खतराको तह पार भएसँगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ ।
देवघाट र पुल्चोकमा खतराको तह पार गरेकोले नदी किनाराका बस्तीका मानिसलाई सुरक्षित रहन सूचना जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।
प्रमुख जिल्ला अधिकारी भट्टराईले निरन्तर वर्षा भइरहेका कारण सबैलाई सजग रहन अनुरोध गरेका छन् ।

‘देवघाटमा पानीको खतरा लेबल ८ मिटर हो अहिले ९ क्रस गरिसकेको छ,’ उनले भने, ‘पुल्चोकमा खतराको लेबल १२ मिटर हो त्यो क्रस भइसकेको छ।’
जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ । सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ । नारायणगढ पुल नजिक भने पानीको सतह चेतावनी विन्दुमा छ । नारायणी पुलनजिक भने नदीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ । पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ ।
सोमबार दिउँसोदेखि नारायणीमा पानीको वहाब बढेको उनले बताए। नारायणी नदी किनारामा रहेको हात्तीको मूर्ति नारायणीको बाढीले बगाएको छ।
जलस्तर बढ्दो क्रममा नै रहेको छ । नारायणी नदीमा बाढी आउँदा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा रहन्छ । मेघौली नियरेचोकमा यसअघि असार अन्तिममा आएको बाढीले नदीको तटबन्धसमेत भत्काएको थियो । नवलपुर क्षेत्रमा पनि जोखिम बढेको छ ।