
चैत ११ गतेदेखि लागू भएको लकडाउन सरकारले आकस्मिक रुपमा आज मंगलबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलन मार्फत बताए ।
मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रवक्ता खतिवडाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेका हुन । लकडाउन अन्त्य भएको घोषणा भएपनी लकडाउन आंशिक रुपमा भने भदौको सुरुसम्मै लागू हुने देखिन्छ ।
लकडाउन अन्त्य भए सँगै सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली पनि खारेज भएको छ । तर लामो दूरीका सवारीसाधन भने भदौ १ पछिमात्रै सञ्चालनमा आउने छन्।
पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘सार्वजनिक यातायात नियमित रूपमा चल्ने भएका छन् । त्यस्तै, निजी सवारी साधनहरू पनि जोरबिजोर बिना नै चल्ने भएका छन् ।’
साथै सरकारी कार्यालयमा लागू गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरिएको छ ।