
हालै राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापाले नेपाली कांग्रेसमा प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुशी लागेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश गरेका हुन् ।
मंगलबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेपछि उनले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टीमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताएका हुन् ।
उनीसहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्रबहनदुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरु सबै राप्रपाका प्रभावशाली नेता भएकाे बताइएकाे छ ।
कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता काँग्रेसमा प्रवेश गरेका र अन्य जिल्लाबाटै प्रवेश गर्ने बताइएको छ । आज पार्टी प्रवेश गर्ने सबैलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् भने उपसभापति बिमलेन्द्र निधिले पार्टीमा स्वागत गरे ।
यस्तै नवप्रवेशीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधिले लामो छलफलपछि थापा लगायतलाई पार्टी प्रवेश गराउन सफल भइएको बताए । आजको दिन ऐतिहासिक भएको समेत बताउँदै निधिले सूर्यबहादुर थापाको खुलेर प्रशंसा गरे ।
सूर्यबहादुर थापाको राजनीतिबारे पक्ष र विपक्षमा वहस भए पनि नेपाली राजनीतिकमा उनको ठूलो योगदान रहेको निधिले बताए ।
सुनीलबहादुर थापाले मन्तव्यका क्रममा कांग्रेसका संस्थापक नेता वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, सुशील कोइराला र आफ्नै बाबु सूर्यबहादुर थापालाई सम्झिए ।
अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताए ।

आफ्ना बुबा सूर्यबहादुर थापाले लोकतानित्रक शक्तिबीच एकता हुनुपर्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएको भन्दै उनले राप्रपाले त्यो बाटो भुलेकाले कांग्रेस प्रवेश गरेको दावी गरे ।
थापाले ६७ वर्षअघि तोडेको नाता आफूले जोडेको बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाबाट काँग्रेसको सदस्यता ग्रहण तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतले स्वागत गरेपछि बोल्दै थापाले सुरुमा आफ्नो बुबा सूर्यबहादुर थापाले पनि काँग्रेसको राजनीति गरेको बताए ।
२००८ सालमा सूर्यबहादुर मोरङ काँग्रेसको कोषाध्यक्ष रहेको तथा २०१० मा धनकुटा काँग्रेसको सभापति भएको उनले बताए । त्यसपछि भने काँग्रेससँग सम्बन्धबिच्छेद गरेर बुबा फरक बाटो लागेको उनले बताए । उनले काँग्रेससँग तोडएको नाता ६७ वर्षपछि फेरि जोड्न पाउँदा खुसी लागेको समेत बताए ।
उनले आफ्नो बुबाले लोकतान्त्रिक शक्तिको बृहद मोर्चाको कल्पना गरेको र त्यो काँग्रेसबाटै सम्भव भएको पनि बताए । उनले आफ्नो पूरानो पार्टी राप्रपा बुबाले खनेको बाटोबाट च्यूत हुँदै गएकाले आफू काँग्रेसभित्र घुलित हुने निर्णय गरेको पनि बताए ।
सो क्रममा उनले राप्रपाभित्र असन्तुष्ट धेरै नेता कार्यकर्ता भएको भन्दै उनीहरुलाई पनि क्रमशः काँग्रेसमा प्रवेश गराइने बताए । आज नै धेरै नेता कार्यकर्ताले काँग्रेस प्रवेश गर्ने चाहनामा राखेपनि कोरोनाको संत्रासका कारण सम्भव हुन नसकेको उनको दावी थियो ।
थापालगायतलाई स्वागत गर्दै देउवाले नवप्रवेशीको पार्टीमा उचित मूल्यांकन हुने बताए । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपाले प्रतिगमनको बाटो रोजिरहेको बेला थापालगायत अग्रगमनको चाहनासहित काँग्रेसमा प्रवेश गरेकामा धन्यवाद दिए ।