
काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
संकलन भएको नमूनामध्ये झन्डै ३ हजार ४ सयको परीक्षण गर्दा २४ जनामा संक्रमण पोजेटिभ देखिएको छ, उनले भने।
तीन वटा नाकामध्ये संक्रमित संख्याको प्रतिशत बढी फर्पिङ र साँगा नाकाको रहेको प्रवक्ता गौतमले जनाए।
सरकारले केही दिनयता काठमाडौं प्रवेशविन्दुमै स्वाब संकलन गर्दै आएको थियो । नागढुंगामा ४ हजार ७१०, फर्पिङमा १ हजार २८२ र साँगामा २ हजार ४०९ जनाको स्वाब संकलन गरिएको थियो ।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि मन्त्रालयले मुख्य प्रवेश विन्दुबाट १० हजार जनाको परीक्षण गर्ने भनेको छ।
जस अनुसार ८ हजार ५ सय स्वाब संकलन गरिसकिएको छ। त्यहीमध्ये झन्डै साढे ३ हजारको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।
नागढुंगामा संकलितमध्ये २ हजार ३०२ को परीक्षण गर्दा ३ जना, फर्पिङमा संकलित ७४१ को परीक्षण गर्दा १० जना र साँगामा संकलित ४३० जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
अझै धेरै नमूना परीक्षण गर्न बाँकी रहेकाले यो संख्या बढ्ने देखिन्छ।