
सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति गएको पहिरोमा परेर मृत्यु भएका आठ जनाको शव निकालिएको छ।
उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।

मेलम्ची नगरपालिका-११ का वडाध्यक्ष रूद्रप्रसाद दुलालका अनुसार पहिरोबाट आठ जनाको शव सोमबार बिहान निकालिएको हो।
‘आठ जनाको शव पहिरोबाट निकालियो,’ उनले भने, ‘घाइते एक जनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको छ।’
एअर डाइनेष्टीको हेलिकप्टरबाट घाइतेको उद्धार गरिएको उनले बताए।

मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएका वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेको वडाध्यक्ष दुलालले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । डीएसपी काफ्लेका अनुसार उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । थप उपचारका लागि धुलिखेल लैजाने तयारी गरिए पनि बाटो अवरुद्ध भएकाले लैजान नसकिएको उनले बताए ।
ज्यान गुमाउनेहरू सबै पुरूष हुन्। ‘धेरै जना वीरगन्जका हुनुहुन्छ, दुई-तीन जना भारतका पनि हुनुहुन्छ,’ उनले भने।
वडाध्यक्ष दुलालका अनुसार कभर्ड हल बनाउन ती मजदुरहरू २० दिनअघि मेलम्ची बजार आएका थिए।
निर्माणाधीन कभर्ड हलको छेउमा उनीहरू बस्थे।
