
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव सङ्कलन केन्द्र तोकेको छ । ती स्बाव सङ्कलन केन्द्रमा गई कोभिड–१९ परीक्षण मापदण्डभित्र तोकिएका व्यक्तिको निःशुल्क परीक्षण गर्न सकिने छ ।
- पाटन अस्पताल,
- सिभिल अस्पताल,
- त्रिवि शिक्षण अस्पताल,
- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,
- वीरेन्द्र सैनिक अस्पताल,
- स्टार अस्पताल,
- नेपाल प्रहरी अस्पताल,
- भक्तपुर अस्पताल,
- काठमाडौँ मेडिकल कलेज,
- वीर अस्पताल,
- सशस्त्र प्रहरी बल अस्पताल,
- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,
- ह्याम्स अस्पताल र
- नेपाल कोरिया मैत्री अस्पताल समेत गरेर १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकिएको छ ।
स्बाव सङ्कलन केन्द्रहरुमा बिहान ९ देखि १ बजेसम्म परीक्षणका लागि नमूना सङ्कलन हुनेछन । यसैगरी मन्त्रालयले तोकेको कोभिड–१९ हब अस्पताल, कोभिड–१९ क्लिनिक अस्पताल, कोभिड–१९ अस्पताल लेभल १, २ र ३ मा पनि परीक्षणका लागि स्बाव सङ्कलन गरिन्छ । त्यसैगरी मन्त्रालयले उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, साँगा र फर्पिङमा स्वाब सङ्कलन जारी राखेको छ ।
यसैगरी उपत्यकामा सङ्क्रमित ठाउँमा गएर इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पनि स्वाब सङ्कलन गरिरहेको छ । महाशाखाले बढी अग्रपङ्क्तिमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयमा गई पनि स्वाब सङ्कलन गरिरहेको छ । बैंक, मालपोत तथा नापी कार्यालय, अस्पतालका स्वास्थ्यकर्मी, सिंहदरबारका सरसफाइ गर्ने कर्मचारी, कालीमाटी तरकारी बिक्री केन्द्र लगायतका कार्यालयमा गई स्वाब सङ्कलन गरी कोभिड–१९ परीक्षण गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले स्वाब सङ्कलनका लागि अस्पताललाई निर्देशन दिइसकेको समेत जानकारी दिनुभयो । “हामीले ती स्बाव केन्द्रको रुपमा तोकिएका अस्पताललाई स्वाब सङ्कलनका लागि निर्देशन दिइसकेका छौ”, उहाँले भन्नुभयो, “शायद भोलिदेखि स्वाब सङ्कलन गर्नेछन् ।”
उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र अस्पताल, नेपाल पुलिस अस्पताल, स्टार अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, सेन्ट्रल डाइग्नोष्टि ल्याबरोटरी एन्ड रिसर्च सेन्टर, विध ल्याब र सूर्या हेल्थ केयरबाट कोभिड–१९ को परीक्षण गरिन्छ ।