
काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित बढ्दै गएपछी जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा बिहीबारदेखि जोरबिजोर प्रणाली लागू हुने निर्णय गरेको हो । लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो ।
सरकारले आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न साउन ९ गते मध्यरातदेखि लागू हुनेगरी लकडाउन खुला गरेको बताएको थियो । सरकारको निर्णयपछि पनि व्यवसायीले विभिन्न माग राखेर यातायात सञ्चालन गर्न मानेका थिएनन् तर पछी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार भएपछि साउन ८ देखि यातायातका साधन सञ्चालनमा आएका थिए ।
यद्यपी लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आइसकेको छैन ।
सरकारले लकडाउन खोलेर अवस्थालाई सामान्यीकरण गर्न खोजिरहेकाे बेला संक्रमितको संख्या बढ्न थालेसँगै फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो । यस्तै संक्रमण न्यूनीकरणका लागि पुनः लकडाउन गर्नुपर्ने आवाज समेत उठेको छ ।
मंगलबार प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलमा १५ दिन कडाखालको लकडाउन गर्न सुझाव आएको थियो ।
